काठमाडौँ। कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा विभिन्न जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। यो निर्णयलाई नेपाल–कतारबीचको गहिरिँदो कूटनीतिक र मानवीय सम्बन्धको संकेतका रूपमा हेरिएको छ ।
कतार सरकारको उक्त निर्णयप्रति परराष्ट्र मन्त्रालयले औपचारिक धन्यवाद व्यक्त गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीप्रति आभार प्रकट गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीका अवसरमा नेपाली कैदीहरूलाई दिइएको आममाफी मानवीय संवेदनशीलता र दुई देशबीचको मित्रता तथा सौहार्दताको अभिव्यक्ति हो।”
सरकारले यो क्षमादानलाई मानवीय आधारमा दिइएको दयालु कदम भन्दै उच्च कदर गरेको जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार यसले नेपाल–कतार द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
यो आममाफी हालै नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिएको घटनापछि आएको हो, जसलाई कतिपयले दुई देशबीचको मित्रतापूर्ण सम्बन्धको निरन्तरताका रूपमा विश्लेषण गरेका छन्।
कतार नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मुलुकमध्ये एक हो। हाल कतारमा करिब ५ लाख नेपाली श्रमिक कार्यरत छन्। गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपाली रोजगारीका लागि कतार गएका थिए ।
कतार सरकारको यो कदमलाई विदेशमा रहेका नेपाली नागरिकप्रतिको सकारात्मक सन्देशका रूपमा पनि हेरिएको छ ।































प्रतिक्रिया