वनभोज हिनेका विद्यार्थी बोकेको बसको ठक्करबाट गुल्मीमा दुई जनाको मृत्यु

वनभोज हिनेका विद्यार्थी बोकेको बसको ठक्करबाट गुल्मीमा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
12
Shares

गुल्मी। गुल्मीको मालिका गाउँपालिकामा विद्यार्थी बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटना आज बिहान भएको हो।

राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिका–पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी ५६ वर्षीया भाउजू मनकला अर्यालको मृत्यु भएको प्रहरीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

दुर्घटनामा घाइते भएका चार जनामध्ये दुई जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको थियो। चिकित्सकले उनीहरूलाई उपचारकै क्रममा मृत घोषणा गरेका हुन्।

दुर्घटनामा मृतक मनकलाका ६ वर्षीय नाति अनुभव गिरी र पैदल यात्री जमरपोखरा माध्यमिक विद्यालयकी ४१ वर्षीया शिक्षिका लिलावती अर्याल घाइते भएका छन्। घाइते बालक गिरीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ भने शिक्षिका अर्यालको गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।ा

Logo