काठमाडौँ
मुलुकमा ठूलो भूकम्प गएको झण्डै तीन वर्ष बिति सक्दा पनि भूकम्पका पराकम्प जाने क्रम अझै रोकिएको छैन । २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको पराकम्पको तुलनामा अहिले पाँच गुणा वृद्धि भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकरीले विनाशकारी भूकम्प गएको २०७२ वैशाख १२ गतेपछि नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको जानकरी दिनुभएको छ ।
उहाँका अनुसार गोरखा केन्द्रबिन्दु भएर गएको २०७२ सालको सो भूकम्पपछि नेपालमा अहिले सम्म साना ठूला गरी ४५ हजार भन्दा बढी पराकम्प गइसकेको छ, जसमध्ये चार रेक्टर स्केल भन्दा ठूला करिब पाँच सय वटा पराकम्प रहेका छन् । पराकम्पले जनधनको कुनै क्षति भएको प्रमाणित खबर अहिलेसम्म नआएको अधिकारीले जानकारी दिनुभयो ।
मुलुकमा यस्ता पराकम्प कहिले सम्म गइरहन्छ भन्ने जिज्ञासामा केन्द्र प्रमुख अधिकारीले अहिले गइरहेका पराकम्प वैशाख १२ गते र २९ गते गएका भूकम्पकै पराकम्प हो, यस क्षेत्रमा भूकम्पका यस्ता पराकम्प कहिले सम्म जान सक्छ भन्न नसकिने स्पष्ट पार्नुभयो । विश्वमा ठूला–ठूला भूकम्प गएका ठाउँमा फरक–फरक समय र किसिमले पराकम्प जाने गरेको बताउँदै उहाँले पराकम्प गएको कुनै निश्चित समय नदेखिएको जानकारी दिनु भयो । उहाँका अनुसार केही वर्षका लागि २०७२ सालमा केन्द्रबिन्दु भएर भूकम्प गएको क्षेत्र बाहेकको ठाउँमा नेपालभरि नै ठूला भूकम्प जाने सम्भवाना सधैँ कायम नै रहन्छ । “अहिले सम्मको अनुमानको आधारमा २०७२ सालमा केन्द्रबिन्दु भएर भूकम्प गएको क्षेत्रमा ठूलो खालको भूकम्प आउन सक्दैन” भन्दै अधिकारीले सचेत र सुरक्षित भएर बस्न सबैसँग आग्रह समेत गर्नुभयो ।
गोरखापत्रबाट





























प्रतिक्रिया