काठमाडौं । यतिबेला नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र प्रकृतिलाई लिएर तीव्र बहस र विवाद चलिरहेको छ ।
हिजो बसेको कार्यसम्पादन समितिको बैठकबाट संस्थापन पक्षले नियमित महाधिवेशन वैशाखमा गर्नेगरी कार्यतालिका पारित गरेर अघि बढेको छ भने विशेष महाधिवेशन पक्षधरले यसलाई अस्विकार गरेको छ । यसले पार्टीको आन्तरिक राजनीतिलाई तरङ्गित बनाएको अवस्थामा कांग्रेसका नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले विशेष महाधिवेशनलाई प्राथमिकतामा राख्दै यसलाई पार्टीको रूपान्तरणको महत्वपूर्ण अवसरको रूपमा अघि सारेका छन् ।
केन्द्रविन्दुसँगको विशेष कुराकानीमा नेता पौडेलले स्पष्ट रूपमा विशेष महाधिवेशनको पक्षमा वकालत गर्दै भनेका छन्, ‘यो अब पार्टीको रहर होइन, बाध्यता बनेको छ । नियमित महाधिवेशनको प्रक्रिया ढिलो हुँदै जाँदा पार्टी विधानको रक्षा र नयाँ ऊर्जा भर्नका लागि विशेष महाधिवेशन अपरिहार्य भएको उनको तर्क छ । उनले जोड दिएका छन्, विशेष महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा भर्ने मात्र होइन, युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सुनौलो अवसर पनि सिर्जना गर्नेछ ।’
पौडेलका अनुसार, पार्टीभित्र नयाँ शक्तिहरूको उदय र उनीहरूको एकजुटताले कांग्रेसलाई थप चुनौती थपेको छ। यस्तो अवस्थामा पुरानै नेतृत्वका साथ चुनावमा जाँदा पार्टीको विश्वसनीयता र ऊर्जा कायम रहन सक्दैन । उनले अब नयाँ नेतृत्वसहित चुनावी मैदानमा उत्रनु जरुरी रहेको भन्दै विशेष महाधिवेशनले बाटो खोलिदिनुका साथै पार्टीमा पुस्तान्तरणलाई संस्थागत गर्नेछ र युवा तथा नयाँ पुस्तालाई अगाडि ल्याउने उल्लेख गरेका छन् ।
नेता पौडेलले थपे, ‘नियमित महाधिवेशनको कार्यतालिका बारम्बार सारिँदा पार्टी अनिर्णयको बन्दी बनेको छ । यदि निर्वाचन अगाडि नै महाधिवेशन नगरे पार्टीले जनतासमक्ष नयाँ अनुहार र नयाँ प्रतिबद्धता प्रस्तुत गर्न सक्दैन। विशेष महाधिवेशनले नेतृत्व परिवर्तनको प्रस्ताव अघि सार्ने अवसर दिन्छ, जसले पार्टीमा मनोवैज्ञानिक विभाजनभन्दा पनि एकताबद्ध रूपान्तरण ल्याउन सक्छ ।’ उनले विशेष महाधिवेशन पार्टी फुटाउने नभई बलियो बनाउने माध्यम बन्ने दाबी गरे ।
जेनजी आन्दोलनका मुद्दाहरूलाई पनि कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्नेमा नेता पौडेलको जोड छ । भ्रष्टाचार, सुशासनको अभाव र युवाहरूको असन्तुष्टिलाई सम्बोधन गर्न नयाँ नेतृत्व र नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ । विशेष महाधिवेशनले यी सबै विषयलाई केन्द्रमा राखेर पार्टीको वैचारिक र संरचनात्मक रूपान्तरण गर्न सक्ने उनले विश्वास व्यक्त गरे।
कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले पनि विशेष महाधिवेशनको पक्षमा आवाज उठाइरहेका बेला प्रदीप पौडेलको यो अभिव्यक्तिले पार्टीको युवा तथा परिवर्तनकारी खेमालाई थप बल पुगेको छ ।































प्रतिक्रिया