काठमाडौँ
मुलुकमा रोजगारी वृद्धि गर्न सरकार र निजी क्षेत्रको सहकार्य तथा समन्वयमा उत्पादनशील क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यम विकास समितिले आयोजना गरेको ‘महिला उद्यमशीलता’ विषयक अन्तरक्रियामा सहभागी नेता तथा उद्यमीले यस्ता क्षेत्रमा गरिने लगानीले प्रतिफल दिने विचार व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र) का नेता पम्फा भुसालले यस वर्ष संविधान अनुसार मुलुकमा तीन तहको निर्वाचन भई सरकार गठन गरिएकाले अब देश विकास गरी जनतालाई समृद्ध बनाउन सातै प्रदेशमा औद्योगिक विकासका माध्यमबाट आर्थिक गतिविधि बढाउनु पर्नेमा जोड दिइन् ।
विगतमा उदारीकरण र निजीकरणका नाममा केही माफियाले देशका उद्योग बन्द गराएको बताउँदै उनले अब मुलुकका विभिन्न भूगोलमा प्राप्त हुने कच्चा पदार्थका आधारमा वस्तु तथा सेवा उत्पादन गर्न आवश्यक जनशक्ति तयार गर्नुपर्ने र महिलालाई उद्यमशीलतामा संलग्न गराइनु पर्ने बताइन् ।
महिला उद्यमीहरु अस्मिता सुमार्गी, रीता भण्डारी, होलिका श्रेष्ठ, मेगा बैंकका निर्देशक रविना देशराज जोशी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि विष्णुकुमारी भुसाल लगायतले स्थानीय तहमा युवा स्वरोजगार, हस्तकला, उद्यमशीलता तथा घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न सकेमा मात्र देशभित्र अर्थतन्त्र चलायमान हुने विचार व्यक्त गरे । रासस































प्रतिक्रिया