काठमाडौँ। अमेरिकाको ट्रम्प प्रशासनले भेनेजुएलामाथि हालै गरेको सैन्य हस्तक्षेप र आक्रमणप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गम्भीर आपत्ति जनाएको छ। पार्टीले विज्ञप्ति जारी गर्दै उक्त कदम अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिको मूल्यमान्यताको ठाडो उल्लंघन भएको ठहर गरेको छ ।
विज्ञप्तिमा कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिले विश्वलाई थप अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने खतरा बढाएको चेतावनी दिइएको छ।
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका संवैधानिक रूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसलाई अपहरण शैलीमा नियन्त्रणमा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथि गम्भीर हस्तक्षेप भएको नेकपाको ठहर छ। यस किसिमका कार्यहरू लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा र सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य भएको पार्टीले जनाएको छ। साथै, राष्ट्रपति मादुरोलाई बिना सर्त तत्काल रिहा गर्न माग गरिएको छ ।
नेकपाले भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक र सामाजिक भविष्य आफैं निर्धारण गर्ने अविच्छिन्न सार्वभौम अधिकार रहेको स्पष्ट पारेको छ । साम्राज्यवाद र सबै प्रकारका नव–उपनिवेशवादी हस्तक्षेपको पार्टी सधैँ विरोधी रहेको उल्लेख गर्दै विश्वका शान्तिप्रेमी शक्ति, उत्पीडित राष्ट्र तथा प्रगतिशील आन्दोलनहरूलाई भेनेजुएलाका जनताको पक्षमा उभिन आह्वान गरिएको छ ।
विज्ञप्तिमा भेनेजुएलामाथि गरिएका सबै प्रकारका सैन्य कारबाही र हस्तक्षेप तत्काल रोक्न संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिइएको छ ।





























प्रतिक्रिया