काठमाडौं
संघीय संसदमा अघिल्लो व्यवस्थापिका–संसद्का भन्दा बढी समिति बन्ने भएका छन् । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने प्रक्रिया अघि बढाइएको छ । यसका लागि दुवै सभाका नियमावली मस्यौदा समितिले छलफल अघि बढाएका छन् ।
प्रतिनिधिसभामा १० वटा विषयगत समिति बनाउने सहमति भएको मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले बताए । उनले भने, ‘१० वटा विषयगत समिति बनाउने सहमति भएको छ । नामबारे मोटामोटी सहमति भइसके पनि अर्को बैठकमा टुंगो लाग्नेछ ।’ संघीय संसद सचिवालयले तयार पारेको नियमावलीको मस्यौदामा भने सात वटा विषयगत समिति रहने खाका तयार भएको थियो । आइतबार बस्ने समिति बैठकले प्रतिनिधिसभामा कुन–कुन संसदीय समिति रहने भन्ने टुंगो लाग्ने समिति सदस्य एवं माओवादी केन्द्रकी नेतृ रेखा शर्माले बताइन् । उनले भनिन्, ‘समितिको कार्यक्षेत्र विवाद नहुने गरी मन्त्रालयको आधारमा समितिको नाम टुंगो लगाइनेछ ।’
सचिवालयले बनाएको प्रतिनिधिसभा नियमावलीको मस्यौदामा भने अर्थ, उद्योग तथा वाणिज्य समिति, कानुन, न्याय तथा अन्तर्राष्ट्रिय सम्बन्ध समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था समिति, विकास तथा प्रविधि समिति, जनसंख्या, महिला तथा शिक्षा समिति र सार्वजनिक लेखा समिति गरी सातवटा समिति रहने उल्लेख छ । तर सरकारले थप गरेको मन्त्रालयको नाम तथा सचिवालयले तयार पारेको नामका आधारमा १० वटै समितिको नाम टुंगो लगाउने समिति सदस्यहरूले बताएका छन् ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया