चितवन
पर्साको ठोरीवासीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग ठोरीलाई प्रदेश ३ मा गाभ्न अनुरोध गरेका छन् । ठोरी नाकाको अवलोकनका लागि सोमवार यहाँ आएका मुख्यमन्त्री पौडेलसँग कुरा गर्दै स्थानीयवासीले ठोरीलाई प्रदेश २ बाट प्रदेश ३ मा लैजान माग गरेका हुन् ।
तत्कालिन ठोरी गाविसका पूर्वअध्यक्ष उद्धव सापकोटाले आफूहरु प्रदेश नम्वर ३ मा गाभिन चाहेको वताए । ठोरीलाई प्रदेश ३ मा गाभ्न पटकपटक प्रयास गरिएपनि सफल नभएको उनले गुनासो गरे । मुख्यमन्त्री समक्ष ठोरीका जनता र जनप्रतिनिधिको भावनाको सम्मान हुनु पर्ने उनले वताए । ठोरीलाई प्रदेश नम्वर ३ मा गाभ्न जस्तोसुकै मुल्य चुकाउन पनि आफुहरु तयार रहेको सापकोटाको भनाई छ ।
ठोरीका जनताको चाहाना र भावनाको अहिले सम्म कदर नभएको ठोरी गाउँपालिका –१ का वडाध्यक्ष रामशरण कुँवरले दुखेसो गरे । उनले लोकतन्त्रमा जनताको चाहानाको सम्मान हुने भएपनि राज्यपक्षवाट ठोस कदम नचालिएको वताए । मुख्यमन्त्री पौडेलले जनताको भावनाको सम्मान राज्यबाट हुने भन्दै प्रदेश ३ का लागि पनि ठोरी नाकाको आवश्यकता रहेको बताए । उनले प्रदेश ३ का लागि सबैभन्दा उपयुक्त नाका ठोरी नै हुने भन्दै प्रदेश २ सँग आवश्यक छलफल र सहमतिमा अघि बढ्ने प्रतिकृया दिए ।
‘प्रदेश आत्मनिर्भर बन्न उचित नाकाको समेत आवश्यकता पर्दछ,’मुख्यमन्त्री पौडेलले भने, ‘सरकारले आयोग गठन गरेरै भएपनि सीमा हेरफेर गर्नु पर्दछ ।’
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया