रोल्पा
सिंहदरबारको अधिकार गाउँ सम्म ल्याएको बताउँदै निर्वाचनमा भोट मागेका जनप्रतिनिधि बसेको केन्द्र सम्म पुग्नै जनतालाई सास्ती भएको छ । अब त घर छेउमा सहज सेवा पाइन्छ भन्ने बुझेका रोल्पाका गमालीहरू यतिबेला निरास छन् । हिजोका दिनमा ४१ किलोमिटर कच्ची सडक ‘गाम हुँदै सुलिचौर’ पुगेर २९ किलोमिटर पक्की सडकको यात्राले सदरमुकाम लिवाङ पुगेका गमालीहरू अहिले आफूहरू अन्यायमा परेको अनुभब गर्दैछन । उनीहरू आज पनि सुलिचौर त आउँछन नै तर गाउँपालिकाको केन्द्र पुग्न फेरी २७ किलोमिटर कच्ची सडक पार गर्नुपर्छ ।
‘हामी हाम्रो गाउँपालिकाको केन्द्र सम्म पुग्न लुङग्री गाउँपालिकाको केन्द्र किलाचौरलाई बायाँ पारेर सुनिल स्मृति गाउँपालिकाको केन्द्र हुँदै पोवाङ पुग्छौ । कहि नभएको अन्याय भएको छ । भारी नबोकी हामी जस्ता केटाहरू छिटो छिटो हिड्दा भने ४–५ घण्टा लाग्छ । गाडीमा जाँदा पनि उत्तिकै समय लाग्छ । गामबाट सुलिचौर पुग्न ५ सय र सुलिचौर पोवाङ २५० गाडीभाडा तिरेर केन्द्र सम्म पुग्नु पर्छ । अहिले ७५० लाग्छ बरु पहिले ६ सयमा सदरमुकाम पुगिन्थ्यो । छिटो पनि हुन्थ्यो ।’ बाहिरी गाम स्थीत ठूलोगाउँका गोबिन्द बुढाले सुनाए ।
योजना संझौता लगायत सानो सानो सेवा लिन पनि ठूलो मेहनतका साथ मात्र स्थानीय सरकार भेटिन्छ । ‘गाउँ गाउँमा सिंहदरबार होइन सिंह चाहि आए दरबार आएन । यस्तो पनि हुन्छ । जनतालाई सजिलो गराएको कि दुःख दिएको । बल्ल बल्ल गाउँपालिकामा गयो त्यहाँ पनि कुनै सुविधा छैन । न बत्ति छ, न छेउमा बैङ्क छ । एक दुई जना कर्मचारी छन् । उनीहरूले काम गर्नै भ्याउदैनन् । ५० हजारको एउटा योजना संझौता गर्न जानेहरूको उस्तै परे आधा रकम आउँदा जाँदा खाना बासमै सकिन्छ ।’ गाम ठूलोगाउँका देउसिंह घर्ती स्टोनले भने ।
बाग्लुङको सिमानासँग जोडिएको गाम आफैंमा अभाव भित्र छ । झनै स्थानीय सरकार नै पहुँच बाहिर भए पछि गमालीहरू चिन्तित भएका हुन् । ‘हाम्रोमा न बत्ति छ, न त फोन लाग्छ । खानेपानीको पनि त्यत्तिकै समस्या छ । बाहिर गाम सम्म त कच्ची सडकले हिउँदमा अलि अलि काम दिएको छ । भित्री गामको कुनै गाउँ जान त यहाँबाटै तिन चार घण्टा लाग्छ । मगरात क्लस्टर मिलाउने नाममा नेताले गरेको राजनीतिले गर्दा हामीले दुःख पाएका छौं । गाउँपालिकाको केन्द्र जान उल्टो बाटो हिडेर जानु पर्छ ।’ जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बागबिर घर्तीले भने । ‘बिकास क्रमका हिसाबले हामी त धेरै पछाडी छौं ।’
नागरिकबाट































प्रतिक्रिया