काठमाडौँ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनको सफाइ भए मात्र सबै क्षेत्रको सफाइ हुने बताएका छन् । ग्रिन सिटी अस्पतालको आयोजनामा भएको चक्रपथ सरसफाइ अभियानको ५० औँ हप्ताको विशेष समारोहमा आयोजित कार्यक्रममा उनले भने, ‘सरसफाइ सम्बन्धी मानसिक मूल्य मान्यता देशव्यापी रुपमा फैलाउन सके मात्र सभ्य समाज निर्माण हुन्छ ।’
अध्यक्ष प्रचण्डले मुलुक देश निर्माणको महाअभियानमा जुटिरहेको बेला उक्त कार्यमा हातेमालो गर्न सबैलाई आग्रह समेत गरे । सोच र विचारमा सफाइ भए मात्र देश विकास हुने उनको भनार्इ थियो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले फोहर मानिसको शत्रु भएकाले यसको विरुद्धमा अभियान चलाउनु आवश्यक रहेको बताए । ‘जथाभावी फोहर फाल्नेलाई कानुनी कठघरामा ल्याउनुपर्छ,’ उनले भने ।
गृहमन्त्रीले सार्वजनिक बसमा फोहर फाल्ने देखि जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारबाही गर्छौं । वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले स्वच्छ रुपमा बाँच्न पाउने अधिकारलाई संविधानले ग्यारेन्टी गरेको भन्दै स्वच्छ वातावरण निर्माणमा सबै लाग्नु पर्ने बताए । ‘सबै क्षेत्रका सरसफाइ अभियानलाई एकीकृत गरेर महाअभियान सञ्चालन गर्नु आवश्यक छ,’ उनले भने ।
धुलोरहित वातावरण निर्माण गर्ने अभियानलाई लागू गर्न मन्त्रालय तत्काल लाग्ने उनको भनार्इ थियो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी लगायतले सफा गर्नुपर्छ भन्ने व्यक्तिमा चेतना नआए सम्म सफा शहर निर्माण हुन नसक्ने विचार व्यक्त गरे ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया