काठमाडौं
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीका विभिन्न तहका नेतालाई स्पष्टीकरण सोधेको छ । तल्लो तहबाट आएका तीन सय भन्दा बढी उजुरीका आधारमा दुई सय नेता तथा कार्यकर्तालाई कांग्रेसले स्पष्टीकरण सोधेको हो ।
पार्टी केन्द्रीय सदस्य रमेश रिजाल नेतृत्वको अनुशासन समितिले काटेको स्पष्टीकरण पत्र अनुसार विभिन्न तहका एक सय आठ नेता तथा कार्यकर्ताले पहिलो चरणको जवाफ पठाएका छन् । जवाफको अध्ययन गरी अनुशासन समितिले दोस्रो चरणको पत्र लेख्न सुरु गरेको समिति संयोजक रिजालले जानकारी दिए । ‘उजुरीका आधारमा स्पष्टीकरण सोध्ने काम भइरहेको छ,’ रिजालले भने, ‘वदमासी नै भएको रहेछ भने पार्टीले दण्ड गर्नेछ ।’ पहिलो चरणको स्पष्टीकरणबाट चित्त बुझाउने अवस्था नभएर समितिको सचिवालयले दोस्रो चरणको स्पष्टीकरणको पत्र काटेको जानकारी दिँदै उनले भने, ‘अन्तिम टुंगोमा पुग्न अझै ४,६ महिना लाग्न सक्छ ।’
६० भन्दा बढी जिल्लाबाट अन्तर्घात गरेको भन्दै केन्द्रीय अनुशासन समितिमा तीन सय भन्दा बढी उजुरी परेको छ । ती मध्ये पार्टी सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेलधुरामा दुई, नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा नौ नेतालाई स्पस्टीकरण सोधेको छ । काठमाडौंमा १०, चितवनमा ७, कैलालीमा ९ , भक्तपुरमा ११, नुवाकोटमा १७ जनासँग स्पष्टीकरण सोधेको छ । स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै अनुशासन समितिले स्पष्टीकरण सोधेका केही नेता प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको उम्मेदवार हुनुको साथै केही सांसद समेत रहेको एक नेताले जानकारी दिए ।
नागरिकबाट





























प्रतिक्रिया