भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

केन्द्रबिन्दु
24
Shares

चितवन। यहाँस्थित चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिविसी) भारतीय चेन होटल लड्र्स इन होटल एन्ड रिसोर्टले व्यवस्थापन गर्ने भएको छ । यस सम्बन्धमा सोमबार साँझ दुई कम्पनीबीच सम्झौता भएको हो । यसबाट नेपालको पर्यटन व्यवसाय थप प्रवद्र्धन हुने जनाइएको छ ।

भरतपुर महानगरपालिका–१० विमानस्थल अगाडि रहेको सिविसी जिल्लाका अग्रणी व्यवसायीहरुको साझेदारीमा निर्माण गरिएको थियो । सिविसीका कार्यकारी अध्यक्ष दिनुप बराल र रिसोर्टका एसोसिएट भाइस प्रेसिडेन्ट शैलेज एन टेरीबीच सोमबार साँझ सम्झौता भएको हो ।

सम्झौतासँगै लड्र्स सिविसी प्लाजाका नाममा होटल सञ्चालनमा आएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा टेरीले आफूहरुले भारतमा ७० , अमेरिकामा एक र नेपालमा योसहित तेस्रो होटलको व्यवस्थापन गरेको बताए । काठमाडौँ, नेपालगञ्जपछि भरतपुरमा आफूहरुले होटलको व्यवस्थापन सुरु गरेको बताए । यो आफ्नो समूहको ७४औँ होटल भएको भन्दै उहाँले नेपालको काठमाडौँमा थप एक र विराटनगरमा एक होटल व्यवस्थापन गर्न लागेको जानकारी दिए ।

यस वर्ष लड्र्स ग्रुपले विभिन्न देशमा गरी थप १५ होटलको व्यवस्थापनको तयारी गरेको छ । उनले चेनमा चल्ने भएकाले विश्वबजारमा बजारीकरण गरेर पाहुना ल्याउने काममा लाग्ने बताए। यो समूहले तीन तारेदेखि पाँच तारे होटलको व्यवस्थापन गर्दै आएको छ । ७४ होटलमा तीन हजारभन्दा बढी कोठा रहेको र वार्षिक सरदर ५० प्रतिशतभन्दा बढी भरिने गरेको उनले बताए ।

सोही अवसरमा सिविसीका कार्यकारी अध्यक्ष बरालले होटल ‘लड्र्स’ सिबिसी प्लाजासँगै सपिङ स्टोर ‘सेल्सबेरी’ एउटै कम्प्लेक्समा सञ्चालनमा रहेको बताए । एक लाख सात हजार स्क्वायरफिटमा फैलिएको कम्प्लेकसमा यी सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार दुई तला अन्डरग्राउन्डसहित ११ तला रहेको उक्त कम्प्लेक्समा अन्डरग्राउन्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सबेरी, छवटा तलामा होटल सञ्चालन गरिएको छ । उनले अन्तरराष्ट्रिय रुपमा ख्यातिप्राप्त विभिन्न देशमा चेन होटल सञ्चालन गरेका लड्र्ससँगको सहकार्यले व्यवसाय प्रवद्र्धन हुनेमा विश्वास व्यक्त गरे ।

होटलमा ६० कोठा छन् । तीमध्ये प्रेसिडेन्टियल एक, स्वीट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्ट्यान्डर्ड कोठा छन् । होटलमा ५०० क्षमताको सभा कक्ष, १०० क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीनवटा बैठक कक्ष रहेका छन् ।

रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ । भवनको माथिल्लो तलामा स्विमिङ पुल छ । सम्झौतासँगै होटलको खानामा १० प्रतिशत र कोठाहरुमा २५ प्रतिशत छुट गरिएको छ ।

Skip This
Skip This
Logo