काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अब निर्वाचन चरणमा प्रवेश गरेको छ । निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सुरु गरेको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सूचना जारी गरी उम्मेदवारी दर्ताका लागि आह्वान गरेका हुन् । यससँगै पार्टीभित्र लामो समयदेखि रोकिएको नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली पनि सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कांग्रेसको विशेष महाधिवेशनमा मतदान गर्ने कुल मतदाता संख्या ४,७४३ रहेको छ । यसअघि सूचीमा रहेका ६१ जनाले पार्टी परित्याग गरेका छन् भने ४४ जना महाधिवेशन प्रतिनिधिको निधन भइसकेको समितिले जनाएको छ ।
विशेष महाधिवेशन मूल आयोजन समिति संयोजक मनोजमणि आचार्यका अनुसार अहिले पार्टीभित्र एकसाथ तीनवटा प्रक्रिया चलिरहेका छन् । बन्दसत्र सञ्चालन, आन्तरिक संवाद तथा निर्वाचन प्रक्रिया एकै समयमा अघि बढाइएको उनले बताए ।
उनले संवादबाट सहमति जुटे नेतृत्व चयन सहज हुने, सहमति हुन नसके निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुने स्पष्ट पारे । कांग्रेस विशेष महाधिवेशनको आगामी दिशा अब संवाद र निर्वाचनको परिणामले तय गर्ने देखिएको छ ।





























प्रतिक्रिया