काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज उम्मेदवारी मनोनयन हुने भएको छ । आन्तरिक विवादका कारण पटक–पटक स्थगित भएको मनोनयन प्रक्रिया आज बिहान ८ देखि ९ बजेसम्मका लागि तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन्।
पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन सहमतिविहीन शक्ति संघर्षका कारण लम्बिँदै गएको छ। नेतृत्व हस्तान्तरण र अधिकार बाँडफाँटमा टकराव चर्किँदा महाधिवेशन औपचारिकतामा सीमित बन्न थालेको देखिन्छ ।
मंगलबार साँझ नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता खुला गरिए पनि मनोनयनबाहेकका बाँकी निर्वाचन तालिका बुधवारका लागि सारिएको थियो।
संस्थापन समूह र विशेष महाधिवेशन पक्षधरबीच अहिलेसम्म दुई निर्णायक विषयमा सहमति जुट्न सकेको छैन। छलफलमा सहभागी नेताहरूका अनुसार यी विषय नै विवादको केन्द्र बनेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि सभापति शेरबहादुर देउवा सक्रिय राजनीतिबाट अलग हुने प्रस्ताव संस्थापन पक्षले अस्वीकार गरेको छ ।
त्यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष तयार देखिएको छैन। यी विवादले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष सार्वजनिक रूपमा उजागर भएको छ भने विशेष महाधिवेशन पार्टीको भविष्यको दिशानिर्देशक बन्ने कि विभाजनको आधार बन्ने भन्ने प्रश्न खडा भएको छ ।
मनोनयन प्रक्रिया टुंगिएपछि मात्र महाधिवेशनको आगामी कार्यतालिका स्पष्ट हुने निर्वाचन समितिले जनाएको छ ।































प्रतिक्रिया