काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी निर्वाचनमा डडेलधुराबाट सागर ढकाल नै पार्टीको उम्मेदवार हुने स्पष्ट पारेका छन् । ढकालको उम्मेदवारीबारे बजारमा रहेका भ्रमहरू चिर्दै बालेनले उनको नाम ‘फिक्स’ भइसकेको बताएका हुन् ।
मेयर बालेनले भने, “कन्फ्युजन चाहिँ के रहेछ भन्दाखेरि उहाँले डडेलधुराबाट टिकट पाउने हो कि होइन भन्ने होइन, उहाँ हाम्रो तर्फबाट र पार्टीको तर्फबाट फिक्स हो। उहाँले म डडेलधुराबाट उठ्दिन, रूपन्देही वा गुल्मी जान्छु नभनेसम्म डडेलधुराको उम्मेदवार उहाँ नै हुनुहुन्छ।”
बालेनले गत निर्वाचनमा सागर ढकालले स्वतन्त्र रूपमा ल्याएको मतको चर्चा गर्दै यसपटक परिस्थिति बदलिएको उल्लेख गरे । “पहिला एउटा साधारण चुनाव चिह्न लिएर जाँदा त्यति धेरै भोट ल्याउनु असम्भव जस्तै थियो, किनकि त्यतिबेला न पार्टी थियो, न सरकार बन्ने ग्यारेन्टी थियो,” उनले भने, “अहिले रास्वपासँग एउटा बलियो संगठन छ र यो पार्टीले सरकार बनाउने सम्भावना राख्छ। सागर ढकाल रास्वपाबाट चुनाव लड्दा डडेलधुराका लागि बोल्ने मात्र होइन, साँच्चै केही गर्ने सम्भावना रहन्छ।”
बालेनले डडेलधुराका मतदाता र समर्थकहरूलाई सागर ढकालको प्रचारमा जुट्न समेत आग्रह गरेका छन् । उनले झापा, महोत्तरी र कास्की जस्तै डडेलधुरामा पनि यसपटक जनताले ‘सरकार बनाउने शक्ति’ लाई नै भोट दिने विश्वास व्यक्त गरे ।
विगतको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर चर्चामा आएका ढकाललाई यसपटक बालेन र रास्वपाको साथले थप बल पुग्ने देखिएको छ।































प्रतिक्रिया