नेकपाको सचिवालय बैठक आज, एजेन्डा भने तय हुन बाँकी

नेकपाको सचिवालय बैठक आज, एजेन्डा भने तय हुन बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

दुई अध्यक्षबीच निकै रस्साकस्सीपछि सत्तासीन दल नेकपाको सचिवालय बैठक शुक्रबार (आज) बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले बैठक आह्वान गरेका हुन्।

बैठकको पूर्वसन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिस्वरूप आन्तरिक तयारीमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव पौडेल लगायत नेतासँग छलफल गरे।

प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुवास नेम्बाङ लगायत आफूनिकट नेताहरूसँग पनि परामर्श गरेको जनाइएको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल खुमलटारमा सचिवालयका बहुमत नेतासँग छलफलमा जुटे। अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सामूहिक रूपमा र उपाध्यक्ष वामदेव गौतमसँग अलग्गै भेट गरेका हुन्।

दुवै पक्षले फेरि उपाध्यक्ष गौतमलाई फकाउने प्रयास जारी राखेका छन् । हाल दाहाल–नेपाल खेमामा खुलेका गौतम बैठकसम्म टिममै रहन्छन् कि प्रधानमन्त्रीलाई साथ दिन पुग्छन् भन्नेमा कसैले केही टिप्पणी गरेका छैनन्।

गौतमले विगतमा पनि अन्तिम समयमा ओलीलाई साथ दिएका थिए । त्यसकारण यसपटक बैठकमा उनले व्यक्त गर्ने धारणा नेकपाका नेता÷कार्यकर्ताका लागि चासो बनेको छ।

गौतमनिकट नेताका अनुसार भने यसपटक गौतमले पार्टी विधि र पद्धतिमा केन्द्रित रहेर धारणा राख्नेछन्। उनले बिहीबार दाहालसँगको भेटमा पनि आफू यसपटक दायाँबायाँ नगर्ने प्रतिबद्धता जनाएको स्रोतले बताएको छ। तर, महासचिव पौडेलले पनि बिहीबार बिहान गौतमसँग भेट गरेकाले उनको भूमिका के होला भनेर नेकपाभित्र अझै सन्देह छ।

सचिवालयका एक सदस्यले बैठकका एजेन्डा भने तय भइनसकेको बताए । सचिवालयमै छलफल गरी त्यहीं नै एजेन्डा तय गर्ने तयारीमा दाहाल–नेपाल पक्ष देखिएको छ। दुवै पक्षबीच स्थायी समिति बैठकका निर्णय कार्यान्वयन, कर्णालीको पार्टी विवाद, भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेट लगायत विषयमा चर्काचर्की पर्न सक्ने देखिएको छ।

दाहाल–नेपाल पक्ष स्थायी समिति बैठक बोलाउन दबाब बढाउने गरी अगाडि जान खोजेको स्रोतले बताएको छ। ओली पक्षले भने सकभर विषयलाई समझदारीका साथ सचिवालयमै नै टुंग्याउने रणनीति बनाएको छ।अन्नपूर्णबाट

Logo