काठमाडौं
‘जेलमा बसेर सबै ठूला नेता भए । तर आज आफैँ बसेको जेलतर्फ फर्केर हेरेनन् ।’ जेलको अवस्था देखेर चिन्तित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार प्रमुख गणेशप्रसाद भट्टराईका भनार्इ हुन् यी । जेलमै बसेर ठूला नेता भए पनि दयनीय अवस्थाका विषयमा चासो नदिएको गुनासो उनको छ । ‘हेरौं अब त केही हुन्छ कि ’ दिक्दारी भाषामा भट्टराई भन्छन्।
०२८ सालको झापा काण्ड देखि तत्कालीन मालेका नेता राधाकृष्ण मैनालीले निरन्तर १५ वर्ष जेलमै जीवन बिताए । उनी पटक पटक मन्त्री पनि बने तर आफैं जेल सुधार गर्न नसकेको स्विकार्छन् । सुधारका लागि एकपल्ट जेल नै खाली गर्ने प्रस्ताव राखेको समेत उनले सुनाए । जेलमा रहँदा पेट भर्न र आङ ढाक्नै संकट हुने गरेको सम्झना उनको छ । ‘जेल बस्दाको अन्तस्करणको कुरा बिर्सनु मार्मिक विषय हो । म पनि ९/१० महिना गरी दुई पटक मन्त्री भएँ । बन्दीगृह र बन्दीबारे खासै निर्णय गर्न र गराउन भने सकिनँ,’ उनले भने, ‘राजनीतिक परिवर्तन भए पनि मुलुकको आर्थिक विकास नभएकाले जेल मात्र होइन, बन्दीको जीवन पनि जीर्ण बन्दै गएको छ । गणतन्त्र घोषणा भएपछि स्थितिमा सुधार ल्याउन एकपल्ट जेल नै खाली गरौं भनेर पनि प्रस्ताव गरेँ तर केही प्रगति भएन ।’
मैनालीका अनुसार त्यसबेला शान्तिप्रक्रिया पूर्णरुपमा टुंग्याउने र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगको काम सम्पन्न भएपछि जेलको पुनःसंंरचनामा अघि बढ्ने भनेर पन्छिने काम भयो । ‘आफ्नै खेतमा पानी पठाउनेबारे नसोच्ने नेताहरूले जेलबारे सोच्ने कुरै भएन,’ उनले भने । उनले स्वास्थ्योपचार नपाएर जेलमै बितेका छविलाल राजवंशीलाई पनि सम्झिए । आफ्नै आँखा सामुबाट लग्दै भीम नारायण श्रेष्ठ र क्याप्टेन यज्ञ बहादुर थापालाई फाँसी दिइएको घटनाले मैनाली भावुक बने । ‘जेल जीवनका ती दुर्दान्त घटना आँखा वरिपरि घुम्दा पीडा अनुभूत हुन्छ’, उनले भने।
मुलुकभरका जीर्ण जेल सुधारगृहको सट्टा यातनागृहमा परिणत हुँदै छन् । पुराना जीर्ण र थोत्रा जेलका कारण मानवीय क्षतिको समेत खतरा छ । ०७२ सालको महाभूकम्पमा परी जगन्नाथ देवलस्थित जीर्ण केन्द्रीय कारागारको भित्तो खसेर १७ जना कैदी एकै चिहान बने । भौतिक संरचनाको मात्र हालत खराब होइन, खानेपानी, औषधि, सुत्ने ठाउँ र शौचालयको सुविधाबाट समेत बन्दी वञ्चित छन् । कैदीहरू रातभर राम्ररी निदाउन समेत पाउँदैनन्। विस्तारा लगाउने ठाउँ नपुगेर रातमा आलोपालो सुत्नु पर्ने अवस्था छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया