म्याग्दी। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट युवा नेता अर्जुन थापालाई उम्मेदवार बनाएको छ । पार्टीका नेता सेरबहादुर केसीले थापालाई टिकट दिने निर्णय टुंगो भएको जानकारी दिए ।
४२ वर्षीय थापा धवलागिरी गाउँपालिका–७, धारापानीका बासिन्दा हुन्। उनी आफ्नो राजनीतिक यात्रा वि.स. २०५६ मा शिवाङको हेम मावि (नमुना आवासीय) मा अनेरास्ववीयू क्रान्तिकारीको प्रारम्भिक कमिटिको अध्यक्ष भएर सुरु गरेका थिए। पछि काठमाडौँ र भक्तपुरमा विद्यार्थी राजनीतिमा सक्रिय भई अखिल क्रान्तिकारीको नेतृत्व समेत गरेका थिए ।
पछिल्लो समय थापा साविक नेकपा माओवादी केन्द्रको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका थिए ।
थापाले नेतृत्व गरेको स्वतन्त्र रक्तदाता समूहले बिरामीहरूलाई निशुल्क रगतको व्यवस्था गर्दै आएको छ । थापाले व्यक्तिगत रूपमा ५२ पटक रगतदान गरेका छन् भने समूहले १० हजारभन्दा बढी बिरामीलाई निशुल्क रगत उपलब्ध गराइसकेको छ ।
थापाका बुवाआमाको नाममा चन्द्रलोक शैक्षिक कोष स्थापना गरिएको छ। यसबाट धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयका विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरूलाई विगत तीन वर्षदेखि शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ ।































प्रतिक्रिया