काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको नयाँ सामूहिक लगानी कोष ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कोष प्रवर्द्धक रहेको यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा इकाई निष्कासन गरेको हो।
क्यापिटलले कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई जारी गरेको छ । जसमध्ये बीउ पुँजीबापत १५ प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटलका लागि सुरक्षित गरिएको छ। यी संस्थाका लागि छुट्याएर बाँकी रहेको १३ करोड ६० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो पहिलो बन्दमुखी योजना हो। इकाई बाँडफाँड भएको मितिले १० वर्षसम्म यसको अवधि कायम रहनेछ। यस योजनामा लगानी गर्न चाहनेले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू र ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। निष्कासन बन्द हुने मिति छिटोमा माघ ८ गते तोकिएको छ।
फण्ड निष्कासनका लागि इक्रा नेपालले कोष प्रवर्द्धकलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा उच्च सुरक्षित मानिने ‘इक्रा एनपी–आईआर डबल ए माइनस’ र योजना व्यवस्थापकलाई पर्याप्त व्यवस्थापकीय गुणस्तर जनाउने ‘एएमसी क्वालिटी ३’ रेटिङ प्रदान गरेको छ।































प्रतिक्रिया