काठमाडौं । नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा भोलि र पर्सि गण्डकी प्रदेशदेखि पश्चिमका क्षेत्रहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग (डीएचएम) का अनुसार, भूमध्यसागरबाट उत्पन्न पश्चिमी डिस्टर्बन्स र अरबियन सीमा विकसित लो प्रेसर सिस्टमको संयुक्त प्रभावले यी क्षेत्रहरूमा मौसमी परिवर्तन देखिने अनुमान गरिएको छ । यस वर्षाले मुख्यतः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भागहरूमा असर पार्ने देखिन्छ, जसमा दिउँसोपछि मध्यम वर्षा हुने सम्भावना उच्च छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा दिउँसोपछि मध्यम वर्षा हुनेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपात पनि हुन सक्छ । त्यस्तै कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भू–भागमा हल्का वर्षा र हिमाली क्षेत्रमा मध्यम देखि भारी हिमपातको अनुमान गरिएको छ । त्यसैगरी गण्डकी प्रदेशका उच्च भागहरूमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । त्यस्तै बागमती प्रदेशका एक–दुई ठाउँमा छिटपुट वर्षा हुन सक्ने सम्भावना देखिएता पनि ठूलो पानी पर्ने सम्भावना भने न्यून देखिन्छ । काठमाण्डौ उपत्यकामा भने वर्षाको खासै प्रभाव पर्ने देखिन्न ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार, यो मौसमी प्रणालीले तराई क्षेत्रमा लामो समयदेखि लागेको हुस्सु र वायु प्रदूषणबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ । वर्षापछि तापक्रम क्रमिक रूपमा बढ्दै जाने अनुमान छ।
आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन हिजोको ३.५ डिग्रीभन्दा थोरै बढी हो । पर्सि शनिबारपछि मौसममा क्रमशः सुधार आउने र आकाश पनि सफा हुने विभागले जनाएको छ ।































प्रतिक्रिया