काठमाडौं
दशकौं देखि विभिन्न हिमालहरुमा रहेको बेवारिसे शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन् । "/>

हिमालमा बेवारिसे शवले आरोही त्रसित

हिमालमा बेवारिसे शवले आरोही त्रसित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
दशकौं देखि विभिन्न हिमालहरुमा रहेको बेवारिसे शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन् । आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटै भरि शव कुल्चिनु पर्ने बाध्यता छ । आठ हजार माथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन् । चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किँदै खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष तथा आरोही गाइड लाक्पा नुर्बु शेर्पाले बताए । ‘आफ्नै साथीको शव भेटिन्छ, कतिपय चिनजान कै विदेशीको शव देखिँदा मन झस्किन्छ । यसको व्यवस्थापन राज्यले तत्काल गर्नु पर्छ’, उनले भने ।

आरोही लाक्पा शेर्पाले धौलागिरि हिमाल (८१६७ मि) चुम्नै लाग्दा विदेशी नागरिकको शव देखेपछि हातखुट्टा नै कमजोर बनेको बताए । त्यो विदेशी शव करिब २० वर्ष पुरानो हुन सक्ने उनले अनुमान लगाए । तर चिसोले जस्ताको तस्तै छ । करिब २५ वर्ष देखिका शव हिमालका क्याम्प र बाटामा अलपत्र अवस्थामा भेटिने गरेका छन् । विदेशी आरोहीको हिमालमा मृत्यु भए शव त्यहीँ छाड्न परिवारको इच्छा हुने, जीवन बिमा नहुँदा शव ल्याउन नसक्ने, रकम महँगो पर्ने भएकाले आधार शिविर सम्म नल्याउने र कम्पनीले समेत कानुनी आधार नमान्दा समस्या हुने गरेको सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले बताए । राज्यले आरोहणमा मनग्गे राजस्व उठाएकाले पुराना शवलाई आधारशिविर ल्याएर व्यवस्थापन गर्नुको विकल्प नभएको भन्दै पर्यटन विभागसँग अध्यक्षले माग गरे ।

हिमपातले पुरिने र हिउँ पग्लिएपछि फेरि देखिने गर्दा शवको संख्या यकिन भएको छैन । पर्यटन विभागको निगरानी नपुग्दा बिना अनुमति हिमाल आरोहणमा जानेहरूको मृत्यु भएको हुँदा शवको यकिन तथ्यांक विभागसँग समेत छैन । अनुमति लिएर आरोहणमा जाने मृत्यु भएमा सम्बन्धित ट्रेकिङ कम्पनीले आशार शिविरसम्म ल्याएर व्यवस्थापन गर्नु पर्ने कानुनी व्यवस्था छ । हिमालबाट शव ल्याउन महँगो हुँदा कम्पनीले शव नल्याउँदा नयाँ आरोहीको आरोहण प्रभावित बन्ने गरेको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए। सगरमाथाको बाल्कोनी भन्दा (८३०० मि) मुनि र बालकोनी (८४०० मि) भन्दा माथि अझै २० वर्ष अघि देखिका शव छन् ।

सगरमाथा, कञ्चनजंघा, मकालु, लुबुचे, ल्होत्से, मनास्लु, आमादब्लम, छ्यो यू लगायत दर्जन भन्दा बढी हिमालका विभिन्न क्षेत्रमा शव फेला पर्ने गरेको आरोहीहरूको भनार्इ छ । हिमालमा वर्षौं देखि बेवारिस शवको व्यवस्थापन नहुँदा आरोहीमा नकारात्मक असर पर्ने गरेकाले आरोहण क्षेत्र नै प्रभावित बनेको भन्दै यसको तत्काल व्यवस्थापन गर्न सरकारसँग गाइडहरूले माग गरेका छन्।
अन्नपूर्णबाट

Logo