काठमाडौँ
युएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु हुने अधिकांशको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको चिकित्सकले बताएका छन् । दुर्घटनाका मृतकहरुको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हिजोबाट पोस्टमार्टम तथा परीक्षण गर्न थालिएको छ ।
अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. प्रमोद श्रेष्ठले पत्रकार सम्मेलनमा काठमाडौं मेडिकल कलेज (केएमसी) बाट ल्याइएका आठ शव बाहेक अन्य सबैको पहिचान गर्न गाह्रो रहेको बताए । निकै जलेको अवस्थामा रहेकाले शव पहिचान गर्न नसकिने अवस्था रहेको उनको भनार्इ छ । ‘शव पहिचानका लागि सुरुवातमा फिंगर प्रिन्ट, दाँत, लुगा र गरगहनाको परीक्षण गरिनेछ’, उनले भने, ‘त्यसबाट पनि पहिचान गर्न नसकिए डिएनए परीक्षण गर्नु पर्छ ।’
पछिल्लो विवरण अनुसार दुर्घटनामा चालक दलका सदस्यहरु सहित ५१ जनाको मृत्यु भएको छ । जसमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ छन् । पहिलो चरणमा निकै जलेका शवहरुको परीक्षण गरिने र त्यसपछि अन्य शवहरुको पहिचान गर्ने तयारी गरिएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया