आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा सञ्चार माध्यमले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार तथा सूचना प्रवाह गर्न आग्रह गरेका छन्।

सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा बोल्दै उनले निर्वाचनका क्रममा भ्रामक र अपुष्ट समाचार फैलिन नदिन सञ्चार माध्यम सचेत हुनुपर्ने बताए । निर्वाचनको समय नागरिकलाई अत्यन्त सत्यतथ्य सूचना आवश्यक पर्ने भएकाले सञ्चार माध्यमले आचारसंहिताको पालना गर्ने र गराउने दायित्व वहन गर्नुपर्ने उनको भनाइ थियो।

“सञ्चार माध्यमले सकेसम्म निर्वाचनसम्बन्धी समाचार लेख्दा आधिकारिक स्रोतलाई मात्र आधार बनाउन अनुरोध गर्छु,” उनले भने।

उनले डिजिटल प्लेटफर्म र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी सामाजिक सञ्जालमा कसैको छविमा आँच पु¥याउने श्रव्यदृश्य सामग्री फैलिन थालेको उल्लेख गर्दै त्यसको व्यवस्थापनका लागि निर्वाचन आयोगले मेटा, टिकटकलगायत सामाजिक सञ्जाल प्लेटफर्मसँग सहकार्य गर्ने तयारी गरिरहेको जानकारी दिए।

कार्यक्रममा निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन आचारसंहिता पालना गराउने तथा त्यसको निगरानी गर्ने महत्त्वपूर्ण जिम्मेवारी सञ्चार माध्यमको रहेको बताए । विशेष गरी नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति (रासस) जस्ता सरकारी सञ्चार माध्यमले नागरिकसमक्ष सत्य र आधिकारिक सूचना सम्प्रेषणमा अझ बढी जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरे।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न निर्वाचनमा नागरिकलाई सही सूचना उपलब्ध गराउने र निर्वाचन सफल बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताइन्।

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष महेन्द्र विष्टले सञ्चार माध्यमले निर्वाचन आचारसंहितासँगै पत्रकार आचारसंहिता पनि आत्मसात् गरेर पत्रकारिता गर्नुपर्ने सुझाव दिए। उनले पत्रकारले आफैँबाट आचारसंहिता पालना भइरहेको छ कि छैन भनेर आत्ममूल्याङ्कन गर्नुपर्ने बताए। कुनै दल वा उम्मेदवारप्रति झुकाव देखिने सामग्री सामाजिक सञ्जालमा नराखी निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रमका क्रममा सार्वजनिक सेवा प्रसारण नेपालले देशभरका आफ्ना समाचारदातालाई भिडियो कलमार्फत निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखीकरण तालिमसमेत प्रदान गरेको जनाएको छ।

Skip This
Skip This
Logo