भरतपुरका पूर्व वरिष्ठ इन्जिनियर आचार्यमाथि भ्रष्टाचार मुद्दा, पौने ७ करोड बिगो र कैदको माग

भरतपुरका पूर्व वरिष्ठ इन्जिनियर आचार्यमाथि भ्रष्टाचार मुद्दा, पौने ७ करोड बिगो र कैदको माग

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सार्वजनिक सेवामा रहँदा नै पदको दुरुपयोग गरी अकूत सम्पत्ति जोडेको गम्भीर आरोप लागेका भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरत कुमार आचार्यमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आचार्य र उनकी श्रीमती लिली सुवेदीविरुद्ध कुल ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै सो रकम बिगो कायम गरी हदैसम्मको सजाय माग गरेको हो । आचार्यले राष्ट्रसेवकको रूपमा इन्जिनियर पदमा प्रवेश गरेको करिब ३२ वर्षको अवधिमा गरेको सम्पत्ति छानबिन गर्दा यो तथ्य उजागर भएको हो ।

आयोगको विस्तृत आय–व्यय विश्लेषणअनुसार आचार्यको तलब, भत्ता, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक, बैंक कर्जा, घरबहाल, लगानी नाफा, सवारी बिक्री, ब्याज तथा अन्य बैंकिङ स्रोतबाट कुल ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ मात्र वैधानिक रूपमा आर्जन भएको देखियो । त्यस्तै जग्गा खरिद, घर निर्माण, सवारी खरिद, जीवन बीमा, छोराछोरीको शिक्षा, कर्जा साँवा–ब्याज, कम्पनी लगानी, बैंक ट्रान्सफर तथा खातामा रहेको मौज्दातसमेत गरी १० करोड २९ लाख ९९ हजार २२६ रुपैयाँ खर्च भएको पाइयो । यस्तोमा वैधानिक आयबाट व्यय घटाउँदा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ स्रोत नखुलेको ठहर छ । यो रकम आचार्यले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको आयोगले निष्कर्ष निकालेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, आचार्यले मनासिब कारणबिना अस्वाभाविक जीवनयापन गरेको, सम्पत्ति विवरणमा झुटा विवरण पेस गरेको तथा श्रीमती लिली सुवेदीको नाममा सम्पत्ति लुकाएको प्रमाणित भएको छ । आयोगले श्रीमतीलाई प्रतिवादी बनाइएको मुख्य कारण अवैध रकमबाट खरिद गरिएका सम्पत्ति जफत गर्नु पनि हो ।

यदि अदालतले आरोपित आचार्य दम्पत्तिलाई दोषी ठहर गरेमा यो रकम जफत हुनुका साथै कैद र जरिवाना पनि हुनेछ । तर, यस्ता मुद्दामा प्रायः ढिलासुस्ती र प्रभावको आशंका रहने गरेको छ ।

Skip This
Skip This
Logo