जलजलाका १० उत्कृष्ट उद्यमी सम्मानित

जलजलाका १० उत्कृष्ट उद्यमी सम्मानित

केन्द्रबिन्दु
39
Shares

पर्वत। जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनोट गरी सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रमअन्तर्गत उत्कृष्ट १० भित्र छनोट भएका पालिकाभित्रका उद्यमीलाई सम्मान गरिएको हो ।

उत्कृष्ट २० उद्यमीमा समेटिएकामध्ये उद्यमको स्थलगत अनुगमनतर्फ ७५ प्रतिशत र एसएमएस भोटिङतर्फ २५ प्रतिशतको मूल्याङ्कनका आधारमा उत्कृष्ट १० उद्यम घोषणा गरी मङ्गलबार सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले जानकारी दिए । उनका अनुसार उत्कृष्ट १० उद्यमीलाई ४० प्रतिशत थप रकम साझेदारी गरी प्रविधि खरिदका लागि जनही एक लाख रुपैयाँ नगद सहयोग पनि गरिएको छ ।

उत्कृष्ट उद्यमीको रूपमा टपरी एग्रो प्रालिकी जमूना आचार्य, जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाइभैँसी फर्मका तोपबहादुर क्षेत्री, पाइजा अर्गानिक फलफूल तथा पशुपंक्षी फर्मकी बसन्ती पाइजा, पाइजा नर्सरी फर्मका नरबहादुर पाइजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल र हरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मी छनोट भएका छन् ।

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमलगायतले उत्कृष्ट उद्यमीलाई सम्मान गरे । उद्यमीलाई सम्मान गर्दै पर्यटन मन्त्री बस्यालले जलजला तरकारी, फलफूल, पशुपालन र लघुउद्यममा सम्भावनायुक्त रहेको बताए ।

“अहिले गाउँमा युवापुस्ता पाउनै मुस्किल छ, स्थानीय स्रोतसाधनमा आधारित उद्यमशीलतालाई बढावा दिनुपर्छ, स्वदेशमै स्वरोजगार र आत्मनिर्भरतासँगै रोजगारीका अवसर सिर्जना गर्न प्रदेश सरकारले जोड दिएको छ,” मन्त्री बस्यालले भने ।

यस कार्यक्रममार्फत गत आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट २० मा छनोट भएका उद्यमीलाई न्यूनतम ५० हजार रुपैयाँ बराबरको प्रविधि खरिदका लागि जनही २५ हजार रुपैयाँ पुरक अनुदान प्रदान गरिएको छ । साथै, ४० भित्र परे पनि उत्कृष्ट २० बाट बाहिरिएका २० जना उद्यमीलाई यो आर्थिक वर्षमा ३४ हजार रुपैयाँ बराबरको प्रविधि खरिदका लागि जनही २० हजार रुपैयाँ पुरक अनुदान प्रदान गरिने भएको छ ।

उत्कृष्ट २० बाट छानिएका १० जना उद्यमीमध्ये एक जनालाई पालिकाको सर्वोत्कृष्ट उद्यमी घोषणा गरिने कार्यक्रमका फिल्ड अफिसर भगवती पुनले जानकारी दिइन् । सर्वोत्कृष्ट हुने एक जना उद्यमीलाई उद्यम विस्तारका लागि थप एक लाख ५० हजार रुपैयाँ पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यस कार्यक्रमले उद्यमीलाई उद्यम योजना निर्माण, वृद्धिमुखी योजनासम्बन्धी तालिम र नवप्रवर्तनसम्बन्धी प्रविधि सहयोग प्रदान गरेको छ । जलजलामा प्रदेश सरकारको ४० लाख, गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख रुपैयाँ बजेटबाट सञ्चालित यस कार्यक्रमले उद्यम प्रवद्र्धन र रोजगारी सिर्जनामा टेवा पु-याउने अपेक्षा गरिएको छ ।

कार्यक्रम जलजलासँगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुँको म्याग्दे गाउँपालिका र नवलपुरको हुक्सेकोट गाउँपालिकामा पनि सञ्चालनमा छ ।

Logo