रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा करिब दुई फिटसम्म हिउँ जमेसँगै यातायात पूर्ण रूपमा ठप्प भएको हो । यातायात अवरुद्ध हुँदा सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातसँगै निरन्तर वर्षा भइरहेको छ । प्रतिकूल मौसमका कारण सो क्षेत्रमा सञ्चार सम्पर्कसमेत विच्छेद हुँदा उद्धार तथा समन्वयमा थप चुनौती थपिएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि काठमाडौंबाट रुकुम पूर्व हुँदै रुकुम पश्चिम र डोल्पातर्फ गइरहेका यात्रुबाहक बस तथा अन्य सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् । चिसो मौसमका कारण खुला सडकमा अलपत्र परेका यात्रुहरू अत्यन्तै कठिन अवस्थामा रहेका छन् ।
रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार सडक खुलाउन भूमे गाउँपालिकाको केन्द्रबाट जेसिबी (डोजर) पठाइएको छ । “सडक खुलाउने प्रयास भइरहेको छ, तर वर्षा नरोकिएकाले काम सुरु गर्न कठिन भएको छ,” उनले भनिन्, “वर्षा रोकिएलगत्तै हिउँ पन्छाएर यातायात सुचारु गरिनेछ।”
उच्च हिमाली क्षेत्र भएकाले उक्त सडक खण्डमा हरेक वर्ष हिमपातका कारण यातायात अवरुद्ध हुँदै आएको छ । यसपटक बाक्लो हिमपातसँगै फोन नेटवर्क अवरुद्ध हुँदा उद्धार, सूचना आदानप्रदान र यात्रु व्यवस्थापनमा थप समस्या देखिएको सुरक्षा निकायले जनाएको छ ।































प्रतिक्रिया