बागमतीका मुख्यमन्त्री बानियाँलाई धम्की दिने रास्वपा उम्मेदवार थापाविरुद्ध आयोगमा उजुरी

बागमतीका मुख्यमन्त्री बानियाँलाई धम्की दिने रास्वपा उम्मेदवार थापाविरुद्ध आयोगमा उजुरी

केन्द्रबिन्दु
306
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण र भ्रामक सामग्री सम्प्रेषण गरेको भन्दै थापाको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो।

पि.एस. बानियाँ जे.भी. का तर्फबाट दर्ता गरिएको उजुरी अनुसार, उम्मेदवार हेमराज थापा र नारायण दत्त उपाध्यायले फेसबुकमार्फत एउटा भिडियो सार्वजनिक गर्दै मुख्यमन्त्री बानियाँको “घाँटी समात्छु” भनी धम्की दिएका थिए।

उक्त भिडियोमा मार्तडी–कोल्टी सडक निर्माण परियोजनासँग मुख्यमन्त्री बानियाँको नाम जोडेर तथ्यहीन आरोप लगाइएको दाबी गरिएको छ।

तर उक्त सडक परियोजनाको काम २०८४ असार मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने म्याद छ र हाल काम सुचारु नै छ। यस परियोजनामा मुख्यमन्त्री बानियाँको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै संलग्नता छैन। विपक्षी उम्मेदवारले राजनीतिक लाभका लागि भ्रामक र अपमानजनक प्रचार गरेको उजुरीमा उल्लेख छ।

उजुरीमा थापाको उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को गम्भीर उल्लंघन भएको जिकिर गरिएको छ।

‘उल्लिखित कार्य निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ७ अन्तर्गत दफा २५ को उपदफा (च) बमोजिम कसैको पक्ष वा विपक्षमा एस. एम. एस. सामाजिक सञ्जाल, अनलाइन छापा जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने व्यवस्थाको स्पष्ट उल्लङ्घन हो । साथै, सोही दफाको उपदफा (ज) ले राजनीतिक दल वा उम्मेदवार तथा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा र इज्जतमा आँच पुयाउने गलत तथा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने व्यवस्था गरेको छ । त्यस्तै, दफा २१ को उपदफा (च) मा कसैको पक्ष वा विपक्षमा एस.एम.एस., सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री नहुने स्पष्ट प्रावधान गरिएको छ ।’ उजुरीमा उल्लेख छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि रास्वपा उम्मेदवार रहेका थापाले निर्वाचनको स्वच्छतामाथि नै प्रहार गरेको भन्दै प्रचलित कानुन बमोजिम उनको उम्मेदवारी खारेज गरी आवश्यक कारबाही गर्न आयोगसँग माग गरिएको छ। उजुरीको साथमा प्रमाणका रूपमा भिडियो सामग्री पनि आयोगमा पेश गरिएको छ ।

Skip This
Skip This
Logo