१० दिनमै मुख्यमन्त्री, शिक्षकसहित २१ जनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

१० दिनमै मुख्यमन्त्री, शिक्षकसहित २१ जनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । निर्वाचन मिति फागुन २१ गते आउन ३६ दिन मात्र बाँकी रहँदा राजनीतिक दल र उमेदवारहरुको प्रचारप्रसार शुरु भएसँगै निर्वाचन आयोगले आचारसंहिता लागू गरेको १० दिनमै १५ जना व्यक्ति र संस्थासँग स्पष्टीकरण मागेको हो । आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

आयोगको स्पष्टीकरण सोधिएकाहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता झापा क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), नेकपा एमालेका सचिव भक्तपुर २ का उम्मेदवार महेश बस्नेत, सोही क्षेत्रकी उम्मेदवार जानुका पाठक (शोभा पाठक) श्रम संस्कृति पार्टीका अध्यक्ष धरान १ का उम्मेदवार हर्कराज राई (साम्पाङ) रहेका छन् ।यसैगरी नेपाली कम्युनिस्ट पार्टीका नेता जाजरकोटका नेकपाका उम्मेदवार शक्ति बस्नेत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, जनसेवा पार्टीबाट रुपन्देही–२ का उम्मेदवार रहेका कमल भुसाल (निकोलस), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट काठमाडौं–४ मा उम्मेदवार सुरेन्द्र भण्डारी लगायतसँग पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

अनुमति नलिई आचारसंहिता लागू भइसकेपछि अधिवेशन आयोजना गरेको आरोपमा स्वास्थ्य स्वयंसेवक संघसँग पनि आयोगले स्पष्टीकरण सोधेको छ। शिक्षक सरुवासम्बन्धी विषयमा समेत अर्को एक स्पष्टीकरण जारी गरिएको आयोगले जानकारी दिएको छ। त्यस्तै औतारी धर्मगुरु रिन्पोछेलाई बर्खास्त गर्न लागेको उजुरीका आधारमा त्रिपुरेश्वरस्थित गुठी संस्थानलाई पनि स्पष्टीकरण साेधेकाे छ ।

ट्रेड युनियनको अधिवेशन गर्न लागेकाले रोकिपाऊँ भन्ने उजुरीका आधारमा नेपाल स्वास्थ्य स्वयंसेवक संघलाई स्पष्टीकरण साेधेकाे छ ।आचारसंहिताविपरीत एन्फा निर्वाचन गर्न लागेको भन्दै एन्फा र राष्ट्रिय खेलकुद परिषद्लाई पनि स्पष्टीकरण साेधेकाे छ ।

स्पष्टीकरण सोधेका कसलाई के आरोप ?

बालेन शाह
आयोगका अनुसार बालेन शाहले सोही निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा टिप्पणी गर्दै ‘हत्यारा’ शब्द प्रयोग गरेका थिए, जसलाई आचारसंहिताविपरीत ठहर गर्दै आयोगले स्पष्टीकरण माग गरेको जनाएको छ।

आइतबार एमाले अध्यक्ष ओलीले फेसबुकमार्फत आफू पब्लिक डिबेटका लागि तयार रहेको अभिव्यक्ति दिएका थिए । ओलीको सोही पोस्टको कमेन्टमा गएर बालेनले सो प्रस्ताव ठाडै अस्वीकार गरिदिए । बालेनले प्रस्ताव अस्वीकार मात्रै गरेनन्, कमेन्ट गर्दा ‘हत्यारा’ र ‘आतंकवादी’ जस्ता शब्द पनि प्रयोग गरे ।

‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,’ बालेनले अगाडि लेखेका थिए । बालेनको यही अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । जसलाई लिएर आयोगले उनीसँग स्पष्टीकरण मागेको छ ।

महेस बस्नेत
भक्तपुर निर्वाचन क्षेत्र नम्बर– २ का एमाले उम्मेदवार महेश बस्नेतलाई रास्वपाका उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भनेर टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ। जनकपुरमा आयोजित रास्वपाको सभामा बालेनले मैथिली भाषामा सम्बोधन गर्दै ‘मधेशका छौरा प्रधानमन्त्री बन्नेवाला है’ भनेर अभिव्यक्ति दिएका थिए । ‘छौरा’ शब्दलाई एमाले नेता बस्नेतले ‘छाउरा’ अर्थ लगाएर व्यंग्य गरेका थिए ।

हर्क साङपाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ का उम्मेदवार रहेका हर्क साम्पाङमाथि निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको र टी–सर्ट प्रयोग गरेको आरोप लागेको छ । सोही आरोपसहितको उजुरी परेपछि आयोगले साम्पाङसँग पनि स्पष्टीकरण मागेको हो ।

शक्ति बस्नेत
नेकपाबाट जाजरकोटमा प्रत्यक्षतर्फको उम्मेदवार रहेका नेता शक्ति बस्नेतले मनोनयन दर्ताका क्रममा बाजा बजाउने व्यक्तिहरूलाई पैसा बाँडेको भिडिओ ‘भाइरल’ भएको थियो । त्यसविरुद्ध उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

सिके राउत
आफ्नो निर्वाचन क्षेत्रको सार्वजनिक स्थान (चौबाटोमा) आफ्नो निर्वाचन चिह्न र झन्डाको तोरण बनाई प्रदर्शन गरेको उजुरीका आधारमा सप्तरी २ का उम्मेदवार एवं जनमत पार्टीका अध्यक्ष सिके राउतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो  ।

निशा अधिकारी

अस्ट्रेलियामा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्युआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्र्ने विवरण पठाएको भन्ने उजुरीका आधारमा प्रलोपाबाट काठमाडौं ५ की उम्मेदवार कलाकार निशा अधिकारीलाई आयोगले स्पष्टीकरण छ  ।

निकोलस भुसाल
रुपन्देही निर्वाचन क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निकोलस भुसाललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। उनले ‘जेन–जी आन्दोलन’ सँग सम्बन्धित जुत्तालाई चुनाव चिह्नका रूपमा प्रचार गरेको आरोप लागेको छ।

जानुका पाठक
भक्तपुर निर्वाचन क्षेत्र नम्बर– २ की उम्मेदवार जानुका पाठक (शोभा पाठक) सँग पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण माग गरेको जनाएको छ।

सुरेन्द्र भण्डारी
काठमाडौं–४ मा राप्रपा उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता समेत रहेका सुरेन्द्र भण्डारीले लैंगिक तथा अल्पसंख्यक समुदायविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोपमा आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा आयोगले उनलाई स्पष्टीकरण सोधिएको छ ।

खगेन्द्र सुनार
रास्वपाबाट बाँके–३ मा उम्मेदवार रहेका खगेन्द्र सुनारले एक अन्तर्वार्तामा गाईको मासुबारे विवादित अभिव्यक्ति दिएका थिए । सोही विवादित अभिव्यक्तिबारे उम्मेदवार सुनारसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधिसकेको छ ।

हिक्मत कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापा–५ मा एमाले अध्यक्ष ओलीको मनोनयन दर्तामा जाँदा सरकारी गाडी प्रयोग गरेको आरोपमा आयोगमा उजुरी परेको थियो । यही कारण मुख्यमन्त्री कार्कीले आयोगबाट आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण खेपेका छन् ।

जगदीश खरेल
रास्वपाबाट दोलखामा उम्मेदवार रहेका जगदीश खरेललाई माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण सोधेको हो ।

इस्राइल मन्सुरी
कांग्रेस सुनसरी ४ का उम्मेदवार एवम पूर्वमनत्री ज्ञानेन्द्रबहादुर कार्कीको मनोनयन दर्ता गराउने क्रममा सहभागी भएको भिडियोको आधारमा कोशी प्रदेशका उद्योगमन्त्री इस्राइल मन्सुरीसँग स्पष्टीकरण साेधेकाे छ ।

विश्वराज पोखरेल
उम्मेदवारी मनोनयनमा बाजागाजासहित समूह लगेको भिडियोको आधारमा रास्वपा ओखलढुंगाका उम्मेदवार पूर्व डिआईजी विश्वराज पोखरेललाई पनि निर्वाचन आयोगले स्पष्टीकरण मागेको हो ।

शिक्षक देवीराम आचार्य
कांग्रेसको तर्फबाट दैलेख १ का उम्मेदवार वासना थापा र २ का उम्मेदवार दिक्पालकुमार शाहीका लागि रुख चिह्नमा मत माग्दै आफ्नो फेसबुकमा पोस्ट गरेको उजुरीका आधारमा दैलेख भैरवी–३ स्थित देउती आधारभूत विद्यालयका शिक्षक देवीराम आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।

Skip This
Skip This
Logo