सहिदहरूको आकाङ्क्षा साकार पार्न समर्पित हुन राष्ट्रपतिको आग्रह

सहिदहरूको आकाङ्क्षा साकार पार्न समर्पित हुन राष्ट्रपतिको आग्रह

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकाङ्क्षा साकार पार्न सम्पूर्ण राजनीतिक दल, आम नागरिक र सरोकारवालालाई मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन्।

सहिद दिवसका अवसरमा जारी सन्देशमा राष्ट्रपति पौडेलले जनता र राष्ट्रको हितका लागि जीवन अर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै यस दिवसले सहिदहरूको आकाङ्क्षा पूरा गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले सहिद दिवसलाई देशका लागि प्राण आहुति दिने सहिदहरूको स्मरण गर्ने दिनका रूपमा लिइने बताए।

सन्देशमा भनिएको छ, “नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरङ्कुश र तानाशाही शासनविरुद्ध भएका आन्दोलनहरूमा जीवन बलिदान गर्ने सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आएको छ।”

सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरिएको छ।

Skip This
Skip This
Logo