हेटौँडा। मनहरी गाउँपालिका–७ की किसान विमला राईको सम्बन्ध केवल वन संरक्षणमा सीमित छैन, यो उनको दैनिकी, आम्दानी र सुरक्षासँग पनि जोडिएको छ। सूर्योदयसँगै उनी सामुदायिक वनतर्फ लाग्छिन्। झाडी सफाइ, सुक्खा पात–पत्कर सङ्कलन र त्यसबाट कम्पोष्ट मल बनाउने काम नियमित कर्म बनेको छ।
डिपाट सामुदायिक वनमा पात–पत्करका लागि १५ सय फिटका तीनवटा खाल्डा बनेका छन्, जसमा प्रत्येक खाल्डामा १५ सय ट्रयाक्टर मल उत्पादन हुने गरेको छ। यस उत्पादनमा विमला व्यस्त छिन्। उनले बताइन, “पहिला डढेलोको डरले रातभरि निद्रा लाग्दैनथ्यो, अहिले यही खाल्डाले आनन्दको निद्रा दिएको छ।”
अर्धसहरी जीवनशैली भएका र राजमार्ग छेउमा घर भएका विमलाको समुदाय पनि सामुदायिक वनभित्र सक्रिय देखिन्छ। दुई–तीन गाईवस्तु पाल्दा अरु काम गर्न नपाइने र गुजारा नहुने कारण खेती गर्न कठिन भए पनि अहिले वनबाट मल र दैनिक ज्यालादारी दुवै पाइन्छ। झाडी सफाइ र पत्कर सङ्कलनले वनभित्र सुक्खा पदार्थ थुप्रिन दिँदैन र आगलागीको जोखिम घटाउँछ।
सुनाचुरी सामुदायिक वनका उपभोक्ता सरिता ब्लोन पनि बिहानै कागतीका बिरुवा स्याहार गर्न वन पुग्छिन्। उनले बताइन, “पहिले वनमा पहरा दिनु थियो, अहिले खेती गर्न पाएपछि आम्दानी पनि भयो।” सामुदायिक वनमा झरेका पात–पत्कर सङ्कलन गरी कम्पोष्ट मल उत्पादन सुरु भएपछि आगलागीको जोखिम न्यून भएको छ।
डिपाट सामुदायिक वनका अध्यक्ष डम्बरबहादुर मोक्तानले वनमा कम्पोष्ट मल र तेजपत्ताखेती भइरहेको जानकारी दिए। ग्रिन फाउन्डेसन नेपालको प्राविधिक सहयोग र वन समूहको आन्तरिक कोषको करिब ३५ लाख लगानीबाट मल उत्पादन सुरु गरिएको छ। पत्कर जलाउने परम्परा हटेपछि वन सफा भएको र आगो सल्किने सम्भावना घटेको बताइएको छ।
मनहरी गाउँपालिका–७ मा अवस्थित डिपाट सामुदायिक वनसँग सिमाना जोडिएको पशुपति सामुदायिक वन क्षेत्रमा पनि उदाहरणीय अभ्यास सुरु भएको छ। हाइटेन्सन लाइनमुनि खाली जमिन उत्पादनशील बनेको र आगलागीको सम्भावना घटेको छ।
लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियारका अनुसार खेती सुरु भएपछि वनमा बेवास्ता हुने ठाउँ नै बाँकी रहेन। यस अभ्यासले समुदायमा वनप्रतिको अपनत्व र जिम्मेवारी भावना बलियो बनाएको छ।
डिभिजन वन कार्यालय मनहरीका वन अधिकृत सुरेशप्रसाद गुप्ताका अनुसार मनहरी गाउँपालिकाका सामुदायिक वनमा विगत १० वर्षदेखि आगलागी नभएको र पछिल्ला सात वर्षयता पूर्ण रूप्मा शून्यमा झरेको छ।
डढेलो नलाग्दा कार्बनडाइअक्साइड, मिथेन र सुक्ष्म कण उत्सर्जन घटेको छ, जैविक मल प्रयोगले माटोको गुणस्तर र चिस्यानधारण क्षमता बढेको छ। रिचार्ज पोखरीले भूजल पुनःभरण, मुहान संरक्षण र जल सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंका अनुसार वनलाई आम्दानीसँग जोडेर आगलागी शून्यमा झारिनु सामुदायिक वनभित्रको सुशासन र दिगो विकासको उदाहरण हो।





























प्रतिक्रिया