मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बिस्तारै बढ्दै गएको छ । तर जिल्लाका धेरै मतदाता जिल्ला बाहिर रहेकाले निर्वाचनले अपेक्षित गति लिन सकेको छैन । यहाँको निर्वाचन अवस्था ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको देखिन्छ ।
यसअघि स्थानीय तह तथा सङ्घीय–प्रादेशिक निर्वाचन वैशाख÷जेठ वा कात्तिक–मङ्सिरमा हुने गरे पनि यस वर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरिएको हो । मुस्ताङमा हिउँदयामको चिसो छल्न कात्तिक–मङ्सिरमा बेसी झर्ने र चैत–वैशाखमा पुनः उकालो फर्किने परम्परा रहिआएको छ । यस्तो अवस्थाले निर्वाचनलाई सफल बनाउने दायित्व सरोकारवाला निकायका लागि चुनौती बनेको छ ।
यहाँका धेरै मतदाता पोखरा, काठमाडौँ लगायतका स्थानमा अस्थायी बसोबास गरिरहेका छन् । हिउँदयाममा जाडो छल्न बेसी झर्ने परम्परा र संस्कृतिका कारण मुस्ताङका अधिकांश नागरिक बाहिर रहेकाले राजनीतिक दलहरूको निर्वाचन गतिविधि सुस्त बनेको हो । नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका करिब ८० प्रतिशत मतदाता मङ्सिरअगावै जाडो छल्न बेसी झरेका छन् ।
निर्वाचन नजिकिँदै आए पनि मतदाता बेसीमै रहेकाले जिल्लामा निर्वाचनको सरगर्मी बढ्न सकेको छैन । माथिल्लो मुस्ताङ मात्र होइन, तल्लो मुस्ताङका पनि ५० प्रतिशतभन्दा बढी मतदाता जाडो छल्न बेसी झरिसकेका छन् । पर्यटकीय ‘अफसिजन’ र स्याउ बगैँचाको काम सकिएपछि किसानसमेत बेसी झरेका हुन् ।
दुई साताअघि उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि जिल्लामा उम्मेदवार र दलहरूको प्रचारप्रसार गतिविधि सुस्त देखिएको छ । मतदाता कम भएकाले उम्मेदवारहरू मतदाता खोज्दै बेसी झरेका छन् । यद्यपि स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आन्तरिक तयारी अघि बढाइरहेका छन् ।
सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि प्रहरी व्यवस्थापन र तालिम अघि बढाएको तथा सुरक्षा समितिले मतदान केन्द्र र मतदानस्थलको अनुगमन गरिरहेको जनाइएको छ । निर्वाचनका लागि सुरक्षा योजना तयार भइसकेको पनि जानकारी दिइएको छ ।
जिल्लाका अधिकांश मतदाता पोखरा र काठमाडौँमा रहेकाले निर्वाचनको समयमा उनीहरूलाई जिल्ला फर्काउन समस्या देखिएको छ । कतिपय मतदाता निर्वाचनका बेला पनि जिल्ला फर्किन इच्छुक छैनन् । फागुन महिनामा पनि मुस्ताङमा चिसो कायमै रहने भएकाले अधिकांश मतदाता वैशाखपछि मात्र फर्किने योजनामा छन् ।
नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचनले मतदाता बेसीमा रहेकाले जिल्लामा प्रचारप्रसार सुरु गर्न नसकिएको बताए । बेसीमै बसेर सामान्य भेटघाट गरिरहेको जनाउँदै मतदाता जिल्ला नफर्किएसम्म जिल्लामा निर्वाचनको माहोल नबन्ने उल्लेख गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अधितीयचन्द्र थकाली पनि मतदाता भेट्न बेसी झरेका छन् । मतदाता कहाँ बस्छन् भन्ने पत्ता लगाउनै मुस्किल भए पनि फोन सम्पर्कमार्फत भेटघाट गर्ने प्रयास भइरहेको बताए । जिल्लाका समसामयिक समस्या र पार्टीका एजेन्डा सुनाउँदै मत माग्ने काम भइरहेको उनको भनाइ छ ।
नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधारा ढाडु विष्टले जिल्लाका धेरै मतदाता बाहिर रहेकाले प्रचारप्रसारमा समस्या भएको बताए । मतदाता बेसीमा कहाँ–कहाँ बस्छन् भनेर खोज्दै हिँड्नुपरेको उनको भनाइ छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ मतदाता भेट्न काठमाडौँ पुगेका छन् । जिल्लामा मतदाता नभएकाले बेसीमै बसेर समाजघर र मुस्ताङी समुदायका बासस्थान खोज्दै भोट मागिरहेको बताए । फागुनपछि मतदाता जिल्ला फर्किन थालेपछि प्रचारप्रसारका लागि मुस्ताङ फर्किने योजना रहेको जनाए ।
जिल्लामा आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल र आम जनता पार्टी चुनावी मैदानमा छन् ।
बेसी झरेका मतदातालाई जिल्ला फर्काएर मतदानमा सहभागी गराउनु उम्मेदवारहरूका लागि ठूलो चुनौती बनेको छ । जिल्लाका पाँच स्थानीय तहमा कूल ११ हजार ३२८ मतदाता छन् भने ३९ मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ ।





























प्रतिक्रिया