राजविराज । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. सिके राउतले चुनावी अभियानलाई तीब्र पार्दै लगेका छन् । ‘जनताको दरबार’ नामक अभियान लिएर उनले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का जनताको घरघरमा पुगेर भेटघाटलाई तीव्रता दिएका हुन् ।
विकासको योजनासहित राजनीतिक एजेन्डा लिएर गएका कारण उनी मजबुत बन्दै गएको समर्थकहरुको दावी छ । डा. राउतको सक्रिय पहल र निरन्तर दबाबका कारण क्षेत्रमा झण्डै एकहजार हाराहारीका विकास योजनाहरू स्वीकृत भई विभिन्न चरणमा कार्यान्वयनमा पुगेको बताए । यी योजनाहरुले स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
गजेन्द्रनारायण सिंह आश्रमको नयाँ निर्माण, पुनःसंरचना तथा विकासमार्फत ऐतिहासिक र सामाजिक सम्पदालाई जोगाउने काम अघि बढाइएको छ। त्यस्तै, आधुनिक प्रविधितर्फ क्षेत्रलाई जोड्ने उद्देश्यले एआई रोबोटिक्स सेन्टर स्थापना गर्ने अवधारणा र स्पेस सेन्टरसम्बन्धी पहलले युवा पुस्तामा विज्ञान, प्रविधि र नवप्रवर्तनप्रतिको आकर्षण बढाएको बताइन्छ ।
यस्तै औद्योगिक ग्रामको संरचनाहरुको भौतिक निर्माण, पूर्वाधार विकासतर्फ विभिन्न नदीहरूमा पुल निर्माण, ग्रामीण तथा सहरी बस्ती जोड्ने सडक सञ्जाल विस्तार, विद्यालयहरूमा नयाँ भवन तथा पुस्तकालय निर्माणजस्ता योजनाहरूले शिक्षा र यातायात क्षेत्रमा दीर्घकालीन सुधारको आधार तयार हुने अपेक्षा गरिएको छ । यी योजनाहरूले विद्यार्थी, किसान, व्यापारी र सर्वसाधारणलाई प्रत्यक्ष राहत पुग्ने स्थानीयले विश्वास व्यक्त गरेका छन्।
चुनावी अभियानअन्तर्गत सञ्चालन भइरहेको ‘जनता दरबार’ कार्यक्रममार्फत डा. राउत स्वयं जनताका घर–आँगनमा पुगेर उनीहरूको दुःख–सुख सुन्ने, समस्या बुझ्ने र समाधानका लागि प्रतिबद्धता जनाइहेको प्रति स्थानीय खुसी छन्। यो सक्रियताले नेता र जनता बीचको सम्बन्ध दरिलो बन्दै जाने उनीहरुको प्रतिक्रिया छ ।
डा. राउतले समानुपातिक समावेशिता, प्रदेशको अधिकार सुनिश्चितता, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग प्रवर्द्धन, युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने नीतिलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेको कारणले नै उनको लोकप्रियता बढेको जनमत पार्टीका कर्याकर्ताहरुको दाबी छ ।
पाँच वर्षमा हुनुपर्ने चुनाव साढेतीन वर्षमै भइरहे पनि न्युन समयमै डा राउतको पहलमा प्रारम्भ भएको विकास निर्माणका कारण उनी क्षेत्रमा सशक्त बन्दै गएको जिकिर छ ।





























प्रतिक्रिया