सर्लाहीमा चुनावी सरगर्मीः गगनको आगमनले कांग्रेस उत्साहित, रास्वपा र मधेसवादीको के छ अवस्था ?

सर्लाहीमा चुनावी सरगर्मीः गगनको आगमनले कांग्रेस उत्साहित, रास्वपा र मधेसवादीको के छ अवस्था ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका कारण सर्लाहीमा राजनीतिक माहोल निकै तातिएको छ । सर्लाही जिल्लामा प्रतिनिधि सभाका लागि कुल ४ वटा निर्वाचन क्षेत्र रहेका छन्।

सर्लाहीमा चुनावी माहोल सधैं नै निकै रोचक र तातो हुने गर्दछ। यहाँको राजनीतिमा जातीय समीकरण, दलीय प्रभाव र स्थानीय एजेण्डाहरूले ठूलो भूमिका खेल्छन्। सर्लाही मधेश प्रदेशको एक महत्वपूर्ण राजनीतिक जिल्ला हो, जहाँ मुख्य शक्तिहरूका रूपमा नेपाली कांग्रेस, एमाले, नेकपा र मधेश केन्द्रित दलहरूबीच कडा प्रतिस्पर्धा हुने गर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना उम्मेदवारहरू मैदानमा उतारेकाे छ। पछिल्लो समयमा जनमत पार्टीको बढ्दो प्रभावले पनि चुनावी समीकरणलाई थप रोचक बनाएको छ।

क्षेत्र नं. १ र २ मा पुरानो विरासत जोगाउने र नयाँ शक्ति उदाउने बीचको लडाइँले माहोल तताएको छ। क्षेत्र नं. ३ र ४मा विकासका योजना र स्थानीय नेताहरूको व्यक्तिगत प्रभावका कारण चुनावी चर्चा चिया पसलदेखि चौतारासम्म पुगेको छ।सर्लाहीमा चुनावको बेला भोजभतेर, घरदैलो कार्यक्रम र ठूला जनसभाहरूले जिल्ला नै रंगीन बन्छ। सामाजिक सञ्जालमा हुने ‘डिजिटल वार’ ले पनि माहोललाई थप उत्तेजित बनाउने गरेको छ । सर्लाहीको राजनीतिमा अन्तिम समयमा हुने आन्तरिक गठबन्धन र समीकरण परिवर्तनले नतिजामा ठूलो फेरबदल ल्याउन सक्छ।

सर्लाहीका चारवटै क्षेत्रमा पुराना र नयाँ शक्तिबीच कडा टक्कर हुने देखिएको छ । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका दाबेदार गगनकुमार थापा आफ्नो सुरक्षित मानिएको क्षेत्र (काठमाडौं–४) छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लड्न मधेश झरेसँगै चुनावी राप ताप अझै बढेको छ।

सर्लाही -१

सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक निकै रोचक प्रतिस्पर्धा देखिएको छ। निर्वाचनका लागि लालबन्दी, ईस्वरपुर र चन्द्रनगरका केही भागहरू समेटिएको यो क्षेत्रमा राजनीतिक दलहरूले आफ्ना प्रभावशाली उम्मेदवारहरूलाई मैदानमा उतारेका छन् । यस क्षेत्रमा बाट निकिता भण्डारी (रास्वपा),प्रमोद साह (जसपा),लोसपा बाट राम प्रकाश चौधरी र बिकाश ठाकुर राष्ट्रिय मुक्ति पार्टी र स्वतन्त्रबाट मान बहादुर खड्का मुख्य उम्मेदवार रहेको छ ।

निवर्तमान सांसद रामप्रकाश चौधरी यसपटक पनि आफ्नो साख जोगाउने दाउमा छन्। उनी सत्ता गठबन्धन वा स्थानीय समीकरणको आधारमा बलियो प्रतिस्पर्धी मानिन्छन् ।लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्का, जो अघिल्लो निर्वाचनमा स्वतन्त्र रूपमा दोस्रो भएका थिए, यसपटक पनि मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। उनले स्थानीय विकासका मुद्दाहरूलाई जोड दिएका छन्। पूर्व सांसद प्रमोद साह यस क्षेत्रमा आफ्नो पुरानो प्रभाव फर्काउन सक्रिय छन्।

अघिल्लो प्रतिनिधि सभा २०७९ को निर्वाचनमा लोसपाबाट राम कुमार चौधरी २४,८३८ मत ल्याएर निर्वाचित भएको थियो भन्ने स्वतन्त्र बाट उम्मेदवारी दिएका पुर्व मेयर खडका १८,४०४ मत ल्याएर दोस्रो स्थानमा सन्तुष्ट हुनु परेको थियो । जसपाबाट अर्का उम्मेदवार प्रमोद शाह १४,२५५ मत आएको तथ्यांकमा उल्लेख गरिएको छ ।

लालबन्दी क्षेत्रको तरकारी बजारको आधुनिकीकरण, ईस्वरपुरको सुकुम्बासी समस्या, र सिँचाइको उचित व्यवस्था यहाँका मतदाताका मुख्य मागहरू हुन्। सर्लाही–१ मा विशेषगरी ‘पहाडी र मधेशी’ मूलका मतदाताहरूको सन्तुलित उपस्थिति रहेकाले उम्मेदवारहरूले समावेशी एजेन्डाहरू अघि सारेका छन्। निर्वाचन आयोगले यस क्षेत्रलाई संवेदनशील क्षेत्रको सूचीमा राख्दै सुरक्षा व्यवस्था कडा पारेको छ ।

सर्लाही -२

यस क्षेत्रलाई मधेस राजनीतिको एक मुख्य केन्द्रका रूपमा हेरिएको छ। यस क्षेत्रमा दुई पुराना र प्रभावशाली नेताहरूबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निवर्तमान सांसद महेन्द्र राय यादव यसपटक नेकपाको तर्फबाट मैदानमा छन्। उनी यो क्षेत्रबाट यसअघि लगातार विजयी हुँदै आएका छन् र आफ्नो बलियो पकड कायम राख्ने दाउमा छन्।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले फेरि यही क्षेत्रबाट उम्मेदवारी दिएका छन्। यसअघिका निर्वाचनमा महेन्द्र राय यादवसँग पराजित भएका महतो यसपटक ‘मधेस क्रान्ति’ र नयाँ अभियानका साथ बदला लिने रणनीतिमा देखिन्छन्।पुराना नेताहरूको प्रतिस्पर्धाका बीच रास्वपाले रविन महतोलाई उम्मेदवार बनाएको छ। नयाँ पुस्ता र परिवर्तन चाहने मतदाताहरूले उनलाई कत्तिको साथ दिन्छन् भन्ने कुराले यहाँको नतिजामा ठूलो प्रभाव पार्न सक्छ।

यो क्षेत्र उखु खेतीका लागि प्रख्यात छ। किसानहरूले समयमा उखुको मूल्य नपाउने समस्या यसपटक पनि मुख्य चुनावी एजेन्डा बनेको छ। वर्षायाममा हुने डुबान र नदी कटानको स्थायी समाधान मतदाताहरूको मुख्य माग हो। यहाँ यादव, महतो (कुशवाहा) र मुस्लिम समुदायको मत निर्णायक मानिन्छ, जसलाई तान्न उम्मेदवारहरूले विशेष कसरत गरिरहेका छन्।

अघिल्लो निर्वाचनमा नेकपा माओबादी हाल नेपाली कम्युनिष्ट पार्टी बाट सर्बाधिक मत २३,५२९ ल्याउदा उसको प्रतिद्वन्दी लोसपाबाट राजेन्द्र महतोले जम्मा २१,५१८ मत ल्याएको तथ्यांकमा उल्लेख छ । सोही निर्वाचनमा निर्वाचनमा महेन्द्र राय यादवले राजेन्द्र महतोलाई करिब २,०११ मतको अन्तरले पराजित गरेका थिए। यसपटक दुवै नेताहरूले आ–आफ्नो संगठन विस्तार गरेका कारण प्रतिस्पर्धा अझै कसिलो हुने अनुमान गरिएको छ ।

सर्लाही -३

निर्वाचनका लागि निकै रोचक र त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। यो क्षेत्रमा पुराना प्रभावशाली नेता र नयाँ शक्तिबीचको भिडन्तले चुनावी माहोल तातिएको छ।नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ यसपटक सर्लाही–३ बाट चुनावी मैदानमा छन्। उनलाई सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा हेरिएको छ, जसले गर्दा उनको स्थिति बलियो मानिएको छ।

यसअघि २०७९ को निर्वाचनमा झिनो मत (८०० मतको अन्तर) ले विजयी भएका एमाले नेता तथा पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेती पुनः आफ्नो विरासत जोगाउन मैदानमा छन्।

कांग्रेसले यस क्षेत्रमा विनोद खनाललाई उम्मेदवार बनाएको छ। उनले संगठनको पुरानो मत र असन्तुष्ट मत तान्ने रणनीति बनाएका छन्। अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर झण्डै जितेका (दोस्रो स्थानमा रहेका) नरेन्द्र साह कलवार यसपटक रास्वपाको ‘घण्टी’ चिह्न लिएर उठेका छन्। उनलाई यस क्षेत्रमा परिवर्तनको संवाहकका रूपमा हेरिएको छ।

२०७९ मा हरिप्रसाद उप्रेतीले ३२,९३८ मत ल्याएर जित्दा नरेन्द्र साह (माओवादी केन्द्रका उम्मेदवार) ले ३२,१६८ मत प्राप्त गरेका थिए। यसपटक नरेन्द्र साह रास्वपाबाट उठेकाले मत बाँडफाँट निकै रोचक हुने देखिन्छ।

हरिवन र बागमती नगरपालिका एमालेको पकड क्षेत्र मानिन्छन् भने बरहथवा र हरिपुर क्षेत्रमा कांग्रेस र नेकपाको राम्रो प्रभाव छ। यस क्षेत्रमा युवा मतदाता र नयाँ दल (रास्वपा) प्रति देखिएको आकर्षणले पुराना दलहरूलाई ठूलो चुनौती दिएको छ।बागमती नदीको कटान नियन्त्रण र कृषि क्षेत्रमा सिँचाइ सुविधा पुर्याउनु यहाँको मुख्य माग हो। हरिवन र बागमती क्षेत्रका सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने विषय हरेक चुनावको मुख्य एजेन्डा बन्ने गरेको छ।

सर्लाही -४

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अहिले सिङ्गो देशकै ध्यान खिचिएको ‘हाई–प्रोफाइल’ निर्वाचन क्षेत्र बनेको छ र प्रतिनिधि सभा निर्वाचनका लागि यहाँ निकै रोचक र कडा प्रतिस्पर्धा हुँदैछ।

काठमाडौँ क्षेत्र नं. ४ बाट तीन पटक जितेका कांग्रेस सभापति तथा प्रधानमन्त्रीका घोषित उम्मेदवार गगन थापा यसपटक सर्लाही–४ बाट चुनावी मैदानमा छन्। उनले मधेसको शिक्षा र विकासलाई मुख्य एजेन्डा बनाएका छन्।

यसअघि स्वतन्त्रबाट जितेका निवर्तमान सांसद अमरेशकुमार सिंह यसपटक घण्टी चिह्न लिएर मैदानमा छन्। उनी यो क्षेत्रबाट चौथो पटक जित्ने प्रयासमा छन् र पुराना दलहरूको ‘सिन्डिकेट’ विरुद्ध आक्रामक देखिन्छन्। एमालेले शिवपुजन रायका २७ वर्षीय छोरा अमनिश कुमारलाई उम्मेदवार बनाएको छ, जसले युवा मत तान्ने अपेक्षा गरिएको छ।

यो क्षेत्रलाई कांग्रेसको पुरानो गढ मानिन्छ, तर गगन थापाका लागि अमरेश सिंहको व्यक्तिगत प्रभाव र स्थानीय कार्यकर्ताहरूको असन्तुष्टि चुनौती बन्न सक्छ। २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा सिंहको २००१७ मत आएको थियो भने नेपाली काँग्रेस बाट उम्मेदवारी दर्ता गरेका नागेन्द्र कुमारले १८२५३ मत प्राप्त गरेका थिए ।

‘हेभीवेट’ उम्मेदवारहरू र विगतका चुनावी हिंसाका घटनाहरूलाई ध्यानमा राख्दै सुरक्षा निकायले यस क्षेत्रलाई ‘अति संवेदनशील’ सूचीमा राखेर उच्च सतर्कता अपनाएको छ । यस क्षेत्रमा गोडैटा, बलारा र रामनगर जस्ता पालिकाहरूको मत निर्णायक हुने देखिन्छ। गगन थापालाई ’बाहिरी’ उम्मेदवारको ट्याग लाग्न नदिन स्थानीय कांग्रेस नेताहरू सक्रिय छन्।

उखुको मूल्य र भुक्तानीको समस्या यहाँको सबैभन्दा ठूलो चुनावी मुद्दा हो। गगन थापाले मधेसको शिक्षा सुधार र प्रविधिमैत्री शिक्षाको कुरा उठाइरहेका छन् भने स्थानीयहरूले बाढी नियन्त्रण र सडकको माग गरिरहेका छन्। सर्लाही–४ मा यसपटक ‘पुरानाको साख कि नयाँको उदय’ भन्ने बहसले चुनावी नतिजालाई रोचक बनाउने निश्चित छ।

जिल्लाभर ३१२ मतदान स्थल र ६२८ मतदान केन्द्र तोकिएका छन्। १५८ मतदान स्थललाई ’अति संवेदनशील’ र १३१ लाई ’संवेदनशील’ सूचीमा राखिएको छ। यसपटक सर्लाहीमा कुल ५ लाख ११ हजार ६०६ मतदाता रहेका छन्।

Skip This
Skip This
Logo