काभ्रेपलाञ्चोक। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नं १ मा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा १५ दल र तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
यस निर्वाचन क्षेत्रमा विशेषगरी ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यस क्षेत्रमा एमालेका अमित लामा, कांग्रेसका गुणराज मोक्तान, रास्वपाबाट मधुकुमार चौलागाईं र नेकपाका दिननाथ गौतमले उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।
गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा यसै क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङ एमालेका केन्द्रीय सदस्य रेशम लामालाई तीन हजार ९६४ मतले पछि पार्दै ३४ हजार ४१२ मत प्राप्त गरी विजयी भएका थिए।
एमालेका उम्मेदवार लामा पार्टीका केन्द्रीय सदस्य हुन् भने कांग्रेसका उम्मेदवार मोक्तान पार्टीका जिल्ला सचिव हुन्। रास्वपाका चौलागाईं कानुन व्यवसायी हुन् भने नेकपाका उम्मेदवार गौतम चौंरीदेउराली गाउँपालिकाका पूर्व अध्यक्ष हुन्। ठूला दलका यी उम्मेदवार प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहार मानिन्छन्। यस क्षेत्रमा ‘अन्य’ समूहबाट एक जना उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।
गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा क्षेत्र नं १ को समानुपातिकतर्फ एमालेले २४ हजार ७९, कांग्रेसले २१ हजार ७५५, तत्कालीन माओवादी केन्द्रले १७ हजार ३३५, रास्वपाले नौ हजार ७९४, राप्रपाले दुई हजार ४२९ र तत्कालीन एकीकृत समाजवादीले एक हजार ९५५ मत प्राप्त गरेका थिए।
आसन्न निर्वाचनमा काभ्रेका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका ४२ उम्मेदवारकै उम्मेदवारी कायम भएको छ। क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यसपटक पनि दलित उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा छैनन्। जनजातितर्फबाट भने २५ जनाको उम्मेदवारी परेको छ।
यस्तै निर्वाचन क्षेत्र नं २ मा १६ दल र आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ। काभ्रेपलाञ्चोकमा कुल तीन लाख २६ हजार ६११ मतदाता छन्। तीमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला र दुई जना अन्य मतदाता रहेका छन्। कार्यालयका अनुसार क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० र क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम छन्।































प्रतिक्रिया