‘तिहारमा झिलीमीली बत्तीको मूल्य बढेको छैन’ : कमल पोखरेल, महासचिव (विद्युतीय व्यवसायी महासंघ)

‘तिहारमा झिलीमीली बत्तीको मूल्य बढेको छैन’ : कमल पोखरेल, महासचिव (विद्युतीय व्यवसायी महासंघ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

तिहार नजिकिएसँगै काठमाडौं उपत्यकाका घर, ठूलाठूला सपिङ मल, अफिस तथा पसलहरुमा झिलीमीली बत्ती बालेर रंगीचंगी पार्न सुरु गरिएको छ । बजारमा झिलीमीली बत्ती, पाला, मैनबत्तीको कारोबार उच्च हुने गरेको छ । तर विगतका वर्षहरुमा जस्तो कोरोना भाइरसको महामारीले झिलीमीली बत्ती, पाला, सयपत्री फूलको समेत बिक्रीमा कमी आएको र यो वर्ष पूराना सामान नै नबिक्ने देखिएको व्यवसायीहरुले बताएका छन् ।

कोरोना महामारीबीचमा पनि तिहारका लागि विगतका वर्षहरुमा भन्दा आधा मात्रै तिहार लक्षित विद्युतीय बत्ती आयात हुने अनुमान गरेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण ६० प्रतिशत आयात घटेको नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव कमल पोखरेलले बताए । गत वर्ष तिहारमा ७० करोड रुपैयाँ बराबरको झिलीमीली बत्तीको मात्रै आयात भएको थियो भने यो वर्ष ६० प्रतिशतले घटेर करिब ४० करोड रुपैयाँ बराबरको झिलीमीली बत्ती आयात भई कारोबार हुने आंकलन रहेको महासचिव पोखरेलले बताए ।

विगतका वर्षमा तिहार लागेसँगै एउटा छुट्टै खालको रौनक हुन्थ्यो । यही रौनक अनुसार व्यापारीहरूलाई पनि व्यापार गर्न भ्याइनभ्याइ हुने गरेको थियो । तर, यो वर्ष कोरोनाको त्रास तथा आर्थिक स्थिती कमजोर भएकाले गर्दा पनि बजारमा मानिसको भिड कम र व्यापारमा पनि निकै कम भएको पोखरेल बताउँछन् ।

विगतका वर्षहरुमा देशमा लोडसेडिङ हुने गरेकाले सरकारले नै बत्ती नबाल्न आग्रह गर्ने गरेको थियो । तर विगत चार वर्षदेखि देशमा लोडसेडिङ पनि अन्त्य भएको र झिलीमीली बत्तीको खपत पनि बढ्दै गएकाले विगतको तुलनामा अहिले झिलीमीली बत्तीको प्रयोग बढ्दै गएको छ ।

यो वर्ष कोरोना महामारीले विक्री नभएपछि बजारमा झिलीमीली बत्तीको मौज्दात पर्याप्त छ । त्यसैले नयाँ ल्याउने सामानको खासै मूल्य नबढ्ने पोखरेलले बताए । स्ट्रप लाइट, पाइप लाइट, नेट झालर, दियो, लक्ष्मी, गणेशको बल्ने मूर्ति, फोटो लगायतको माग तिहारमा अत्याधिक हुने गर्दछ ।

नेपालमा अधिकांश तिहारलाई आवश्यक बत्ती लगायत अन्य विद्युतीय सामान चीन र भारतबाट आयात हुने गरेका छन् । चीनबाट करिब ७० प्रतिशत र भारतबाट ३० प्रतिशत विद्युतीय सामग्री आयात हुने गरेको महासंघले जनाएको छ ।

यसै विषयमा केन्द्रीत रहेर हामीले नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव कमल पोखरेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश, यो भिडियोमा :

 

Logo