दिवस गुरागाईं । १४ फागुन, २०७४ ।
को हुन्छ, बाम सरकारको अर्थमन्त्री ? ओली सरकारको ढुकुटी कस्ले सम्हाल्ला ? यी प्रश्नको जवाफमा एमाले नेताहरु इश्वर पोखरेल, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे आदीको नाम आउँथ्यो । तर, आज भएको मन्त्रिमण्डल बिस्तारमा यी नाम गलत साबित भएका छन् ।
माथि उल्लेखित ‘भ्याट्रन’ नेताहरुलाई किनारा लगाउँदै अर्थबिद्ध युवराज खतिवडाले अर्थमन्त्रालयको साँचो आफ्नो पोल्टामा पार्न सफल भएका छन् । उनले सपथ लिएसँगै राजनीतिकबृत्तमा अचम्म मान्नेहरु पनि धेरै छन् । सवैको एउटै प्रश्न छ, कसरी भए युवराज खतिवडा अर्थमन्त्री ? के पार्टीमा अर्थमन्त्री हुने हैसियतका नेताहरु थिएनन् ? प्रधानमन्त्रीले किन विश्वास गरेनन् आफ्ना नेताहरुलाई ? कारण यस्ता छन् –
१. प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्रालयका सम्बन्धमा गम्भीर भएकाले ।
– ५ बर्ष शासन सञ्चालन गर्नुपर्ने भएकाले परिणाम दिनु पर्ने हुन्छ । त्यसकारण प्रधानमन्त्री ओली अर्थको ज्ञान भएको नेतालाई मन्त्रालय जिम्मा लगाउन चाहान्थे । योजना आयोग र राष्ट्रबैंकको गर्भनर चलाएर काम देखाइसकेका डा. युवराज खतिवडाले देशकै ढुकुटी सञ्चालन गर्न सक्छन् भन्ने विश्वास प्रधानमन्त्रीलाई हुनु अस्वभाविक होइन ।
डा. खतिवडा यस्ता अर्थविद्ध हुन् जो आत्मबिश्वासका साथ ‘बोल्ड डिसिजन’ गर्न सक्छन् । उनले खासगरी राष्ट्रबैंकको गर्भनर भएकावेला केही हदसम्म सकारात्मक ‘रिजल्ट’ दिन सके पनि । अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्ने उनको अभियानले घरजग्गा करोबारी तथा दलालहरुलाई तह लगाएको थियो ।
डा. युवराज खतिवडालाई स्पष्ट भिजन भएको अर्थविद्ध मानिन्छ ।
२. एमालेमा अर्थको गहिरो ज्ञान भएका नेता नभएकाले ।
– ओलीले पहिलो पटक प्रधानमन्त्री भएकावेला आफ्नो भित्रिया नेता बिष्णु पौडेललाई अर्थको तालाचावी जिम्मा लगाएका थिए । तर, परिणाम सोचेजस्तो आएन । प्राविधिक ज्ञान नहुँदा पौडेलले धेरै ठाऊँ लज्जित हुनु परेको थियो । सुरेन्द्र पाण्डे सफल अर्थमन्त्रीका रुपमा दरिएपनि उनी पनि अर्थविज्ञ होइनन् । र, पाण्डे ओलीका विश्वासपात्र समेत होइनन् ।
पहिला–पहिला एमालेमा अर्थ जानेको नेता भन्ने बित्तिकै भरतमोहन अधिकारीको नाम आउँथ्यो । हाल उनी सक्रिय हुनसक्ने अवस्थामा छैनन् । र, रोगी पनि भएका छन् । उनी ०५१ मा गठित पहिलो कम्यूनिष्ट सरकारका अर्थमन्त्री हुन् । एमालेले सरकार पाएकावेला उनी नै अर्थमन्त्री बन्थे । उनी पछि एमालेवाट सुरेन्द्र पाण्डे अर्थमन्त्री बनेका छन् ।
३. ठूला नेताहरुले अर्थमन्त्रालयलाई जुँगाको लडाई बनाएकाले ।
– स्रोतका अनुसार अर्थमन्त्रीको लागी पार्टी महासचिव इश्वर पोखरेलले सवैभन्दा बढी रुची राखेका थिए । त्यसपछि पूर्वअर्थमन्त्री एवं पार्टीका उपमहासचिव बिष्णु पौडेलले पनि दोहोरिने इच्छा ब्यक्त गरेका थिए । त्यसैगरी पार्टी सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समेत अर्थ मन्त्रालयमा रुची सार्वजनिक गरेका थिए ।
यी मध्ये कुनै एकजनालाई छानेर मन्त्री बनाउँदा विवाद हुन सक्ने प्रधानमन्त्रीको अनुमान थियो । ४ मध्येका इश्वर पोखरेलले रक्षा मन्त्रालयमा चित्त बुझाइसकेका छन् ।






























प्रतिक्रिया