पर्वत । प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै उम्मेदवार मनहरि तिमिल्सिनाले पर्वत जिल्लाको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । घरदैलो अभियान, नागरिकसँगको अन्तरक्रिया र स्थलगत अध्ययनका आधारमा तयार गरिएको एजेन्डामा बसाईँसराईँ नियन्त्रण, शिक्षा सुधार, डिजिटल अर्थतन्त्र, कृषि रूपान्तरण र स्थानीय अर्थतन्त्र सुदृढीकरण मुख्य प्राथमिकतामा राखेका छन्।
तिमिल्सिना अहिले दक्षिण पैयुँको चुनावी अभियानमाा व्यस्त रहेका छन् । विहादीको चुनावी अभियान सकेर पैयुँ पुगेका तिमिल्सिनालाई स्थानिय मतदाताले वौद्धिक र जुजारु युवा उम्मेदवार जिल्लाले पहिलोपटक पाएको भन्दै भव्य स्वागत गरेका छन् । पैयु र विहादी बाट तिमिल्सिना लाई भारी मत दिने स्थानियले बताएका छन् ।
यसपश्चात उनी महाशिलाको चुनावी अभियान सकेर फलेवास झर्ने कार्यक्रम तय भएको नेकपा पर्वतले जनाएको छ । दक्षिणको कार्यक्रम सकेपछी उनी मोदी पारीका पालिका र वडाहरुमा अभियान सञ्चालन गर्ने तयारी गरेका छन् ।
तिमिल्सिनाले विकास हचुवाको आधारमा नभएर तथ्य, अनुसन्धान र नागरिकको वास्तविक आवश्यकतामा आधारित हुनुपर्ने धारणा अघि सारेका छन् । ‘जसको लठ्ठी, उसैको भैंसी’ शैलीको विकास अन्त्य गरी न्यायपूर्ण, योजनाबद्ध र दीगो विकास मोडेल अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।
बसाइसराइ रोक्ने केन्द्रीय एजेन्डा
उनका अनुसार बढ्दो बसाईँसराईँ र घट्दो जन्मदर पर्वतको सबैभन्दा ठूलो चुनौती हो । यसलाई रोक्न जिल्लाका मुख्य बजार क्षेत्रलाई केन्द्र बनाएर एकीकृत बस्ती विकास, सेवा केन्द्रीकरण र आधुनिक ‘रेसिडेन्टल हब’ निर्माण गर्ने एजेन्डा तिमिल्सिनाले अगाडी सारेका छन् ।
शिक्षा संरचनामा आमूल परिवर्तन
तिमिल्सिनाले शिक्षा क्षेत्रमा साना विद्यालय विस्तारभन्दा पनि स्थानीय तहको केन्द्रमा एउटा राम्रो अत्याधुनिक शैक्षिक पूर्वाधार निर्माणको प्रस्ताव गरेका छन् । प्राविधिक शिक्षा, डिजिटल ल्याब, छात्रावास, शिक्षक आवास र डिजिटलाइजेसनमार्फत गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उनको लक्ष्य छ ।
डिजिटल रोजगारी र सूचना–प्रविधि
डिजिटल युगअनुसार विकास मोडेल परिवर्तन गर्नुपर्ने भन्दै कक्षा ९–१२ मा प्राविधिक विषय अनिवार्य, स्थानीय तहको बजेटको कम्तीमा ३ प्रतिशत सूचना–प्रविधिमा लगानी र युवालाई डिजिटल आम्दानीमा जोड्ने नीति उनका प्रमुख एजेन्डामा छन् । जिल्लामा आधुनिक सूचना–प्रविधि केन्द्र स्थापना गरी एआई, मेसिन लर्निङ, एप विकास, डिजाइनिङ र डिजिटल सेवामा युवालाई रोजगारी सिर्जना गर्ने योजना तिमिल्सिनाको रहेको छ ।
कृषि र स्थानीय अर्थतन्त्र सुदृढीकरण
कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक बनाउने, उत्पादनमा आधारित अनुदान, कृषि बीमा, बजारको जिम्मेवारी स्थानीय सरकारले लिने व्यवस्था र बाँदर आतंक नियन्त्रणका लागि जिल्लास्तरीय संयुक्त प्याकेज लागू गर्ने उनको एजेन्डा छ । साथै, ‘पर्वत अर्गानिक’, ‘पर्वत ह्यान्डिक्राफ्ट’ जस्ता ब्रान्ड विकास गरी स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना रहेको छ ।
पर्यटन, ऊर्जा र स्वास्थ्य नीति
पर्यटनमा एग्रो–टुरिज्म, धार्मिक, एतिहासिक,साहसिक र हिमाली पर्यटनको प्रवर्धन, जलविद्युत् सँगै सोलार ऊर्जा विकासमा जोड दिने नीति अघि सारिएको छ । स्वास्थ्य क्षेत्रमा सबै पालिकामा ठूला अस्पतालभन्दा मोबाइल डाक्टर, ट्रमा सेन्टर र बर्थिङ सेन्टरलाई प्राथमिकता दिने एजेन्डा समेटिएको छ ।
रेमिट्यान्स र उद्योग
वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सको सदुपयोग गर्न परिवारलाई वित्तीय साक्षरता अनिवार्य गर्ने, जडीबुटी प्रशोधन केन्द्र, दुग्ध संकलन केन्द्र, फलफूल प्रशोधन र ग्रामीण उद्योग विकासमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना रहेको छ ।
समन्वय र सुशासन
सातवटै स्थानीय सरकारबीच समन्वय, साझा विकास कार्यक्रम, विज्ञहरूको रोष्टर निर्माण र वार्षिक ‘पर्वत विज्ञ सम्मेलन’ आयोजना गरी नीति निर्माणमा विज्ञताको उपयोग गर्ने एजेन्डा पनि तिमिल्सिनाले अघि सारेका छन् ।
मनहरि तिमिल्सिनाले आफ्नो चुनावी एजेन्डा व्यक्तिगत घोषणामात्र नभएर बहस, अनुसन्धान र नागरिक सहभागिताबाट परिष्कृत हुँदै जाने स्पष्ट पारेका छन् । उनका अनुसार पर्वतको विकास राजनीतिक नाराभन्दा दीर्घकालीन सोच, प्रविधिमैत्री नीति र स्थानीय स्वामित्वमा आधारित हुनुपर्नेमा तिमिल्सिनाले जोड दिएका छन् ।































प्रतिक्रिया