जेनजीका माग सम्बोधन गर्दै देशमा नेतृत्व, निकास र दिगो विकास गर्छौं : उम्मेदवार थापा

जेनजीका माग सम्बोधन गर्दै देशमा नेतृत्व, निकास र दिगो विकास गर्छौं : उम्मेदवार थापा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। नेकपाका उम्मेदवार किरण बहादुर थापा (हेम) ले जेनजी आन्दोलनपछि मुलुकले असल नेतृत्वको खोजी गरिरहेको अवस्थामा नेकपा नेतृत्व, निकास र विकासको स्पष्ट रणनीतिसहित जनतामाझ आएको बताएका छन्। सोमबार पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित नेकपाको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले मुलुक हाल अभिभावकविहीन जस्तो अवस्थामा पुगेको टिप्पणी गरे।

थापाले कुनै समय नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले देशको अभिभावकत्व गर्दै नेतृत्व सम्हालेको स्मरण गर्दै वर्तमान अवस्थामा त्यो जिम्मेवारी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को काँधमा आएको दाबी गरे। केपी शर्मा ओलीको दम्भ, घमण्ड र भड्काउ अभिव्यक्तिका कारण देश गम्भीर संकटतर्फ धकेलिएको आरोप पनि लगाए।

सम्पूर्ण वामपन्थी शक्तिलाई एकताको सूत्रमा बाँध्ने जिम्मेवारी नेकपाले लिने उल्लेख गर्दै उनले प्रजातान्त्रिक शक्तिहरूबीच पनि एकता आवश्यक रहेको धारणा राखे। मुलुकका जातजाति, भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि राष्ट्रिय अभिभावकत्व गर्न सक्ने बलियो शक्ति आवश्यक रहेको र त्यसको विकल्प प्रचण्ड मात्रै भएको उनको भनाइ थियो।

जेनजी पुस्ताले बगाएको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै थापाले आन्दोलनका सम्पूर्ण माग सम्बोधन गर्ने बाटोमा आफूहरू अग्रसर रहेको बताए। त्यसका लागि जनताले अमूल्य मत दिनुपर्ने उनको भनाइ थियो।

देशमा विकास र समृद्धिका लागि सुशासन पहिलो शर्त भएको उल्लेख गर्दै उनले सुरक्षित लगानी वातावरण नहुँदा काठमाडौँ र लेकसाइडका केही व्यवसायीहरू दुबईलगायत मुलुकतर्फ लगानी पलायन गर्न थालेको बताए। युरोपसम्म नेपाली पूँजी पलायन हुँदा युवा शक्ति पनि स्वतः विदेशिन थालेको तर्क गरे। पूँजी र युवामात्र होइन, राष्ट्रिय भावना नै पलायन हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे।

पूँजी र युवा शक्तिलाई स्वदेशमै परिचालन गर्ने रणनीतिक योजनासहित आफूहरू अगाडि आएको दाबी गर्दै थापाले निर्वाचित भएमा संसदमा ताली बजाउन मात्र नभई जनताको आवाज र आवश्यक विकास पूर्वाधारका लागि सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

सम्पर्क कार्यालय नेकपाको भए पनि यसलाई जनताका लागि निर्वाचन आचारसंहिता, जानकारी र सचेतनाको केन्द्र बनाइने बताउँदै उनले कांग्रेस, एमाले, रास्वपा र राप्रपालगायत प्रतिस्पर्धी दलका घोषणापत्र र प्रतिबद्धता अध्ययन गरेर विवेकपूर्ण रूपमा मत दिन मतदातालाई आग्रह गरे।

कार्यक्रममा समानुपातिक उम्मेदवार ज्ञानु आचार्यसहितको टोलीको सहभागिता थियो। साथै कांग्रेस, एमाले र रास्वपाका नेताहरूले पनि कार्यक्रम अवलोकन गरेका थिए। कार्यक्रमको सञ्चालन नेकपाका युवा नेता विपिन आचार्यले गरेका थिए।

Logo