पोखरा
म्याग्दीबाट विजयी भएका प्रदेशसभा सदस्य विनोद केसी यतिबेला पोखरामा डेरा खोजिरहेका छन् । प्रदेश मुकाम पोखरामा बस्ने प्रदेशसभा बैठकमा नियमित रूपमा सहभागी हुनु पर्ने भएपछि उनी डेरा बन्दोबस्तीमा लागिरहेका छन् । अहिले नै डेरा बसाइ सुरु नभए पनि पोखरामा पाइने डेरा निकै नै महँगो रहेको उनको अनुभव छ । ‘पोखरामा डेरा निकै नै महँगो रहेछ,’ केसीले भने, ‘डेरा नपाउने भन्दा पनि मासिक भाडा नै महँगो रहेछ ।’ अहिले नै डेरा खोजी नसके पनि साथीभाइसँग बुझ्दा महँगो पर्ने गरेको उनले बताए ।
नेतालाई डेरामा राख्दा मान्छेको आउजाउ बाक्लो हुने र फोहोर बढी हुने भन्दै घरमूलीले डेरा भाडा महँगो भनेको हुन सक्ने केसीको अनुमान छ । ‘सधैंभरि होटल र साथीभाइ कहाँ बसेर भएन, आफ्नो घर छैन, त्यही भएर डेरामै बस्नै प¥यो, तर साह्रै महँगो भन्दा रहेछन्,’ उनले भने, ‘पोखरा यसै त महँगो सहर, त्यसमा पनि डेराभाडा महँगो पर्दा समस्या छ ।’ बागलुङबाट विजयी भएका अर्का सदस्य टेकबहादुर घर्ती पनि यतिबेला डेराको बन्दोबस्तीमा लागिरहेका छन् । अहिले सम्म होटलमा बसेर प्रदेशसभा तथा अन्य कार्यक्रममा सहभागी हुँदै आएका घर्तीले केही दिन देखि डेरा खोजिरहेको बताए । ‘होटलमा बसेर सातामा २० हजार रुपैयाँले नपुग्ने रहेछ । यसरी त खर्च धान्नै गाह्रो भयो,’ उनले भने, ‘साथीभाइ, कार्यकर्ताको आउ जाउले गर्दा पनि खर्च बढी हुने गरेको छ ।’
घरभाडा सरोकार समिति कास्कीका अध्यक्ष यामनाथ पौडेल अहिले पोखरामा बसाइको चाप बढ्दै जाँदा डेरा पाउन समस्या रहेको बताउँछन् । भूकम्परहित घर बनाउनु पर्ने र त्यसका लागि जग्गा पर्याप्त चाहिने भएपछि पछिल्लो समय साना आकारका घर बन्न थालेको र त्यसले कोठा अभाव भएको पनि उनले बताए । ‘पहिला भएजतिको जग्गामा घर ठड्याएर भाडामा दिने सोच हुन्थ्यो, अहिले त्यो अवस्था छैन,’ उनले भने, ‘सानो आकारको घर बनाउने र बस्ने भन्ने धेरे हुन थालेका छन् ।’
नागरिकबाट































प्रतिक्रिया