मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ। सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो ।

चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने गरी अर्धवार्षिक समीक्षामा नयाँ प्रक्षेपण गरिएको हो । गत आवमा भने कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान छ ।

बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा तीन प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ । गत आवको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा २.९ प्रतिशतले वृद्धि भएको संशोधित अनुमान छ ।

चालु आवको पहिलो त्रैमासमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा १.३६ प्रतिशतले विस्तार हुने अनुमान छ । धानको उत्पादन घट्ने तथा पशुपन्छी, तरकारी बाली र फलफूल उत्पादनमा वृद्धि हुने अनुमानका कारण कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर तुलनात्मक रूपमा न्यून रहने अनुमान गरिएको छ । चालु आवमा मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन भने बढ्ने अनुमान छ । गत आवमा धान, गहुँ, मकै लगायत खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत र नगदे बालीको उत्पादन २.०१ प्रतिशतले बढेको अनुमान छ ।

चालु आवको पहिलो त्रैमासमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा ५.४४ प्रतिशतले विस्तार हुने अनुमान छ । ऊर्जा र निर्माण क्षेत्रका क्रियाकलाप विस्तार हुँदा त्यसको सकारात्मक प्रभाव समग्र उद्योग क्षेत्रमा पर्ने अनुमान गरिएको छ । सो अवधिमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि १.५२ प्रतिशतले विस्तार हुने अनुमान छ ।

यही अवधिमा सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा ३.०३ प्रतिशतले विस्तार हुने अनुमान छ । थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता, सामान्य प्रशासन तथा रक्षा, पर्यटकीय गतिविधि र व्यक्तिगत सेवाका क्रियाकलापमा विस्तार हुँदा सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।

बजेट मध्यावधि समीक्षा प्रतिवेदनअनुसार चालु आवको पहिलो छ महिनाको औसत मुद्रास्फीति १.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो ।

Skip This
Skip This
Logo