ठूलो ब्याट्री र ५१० किमी रेन्जसहित बीवाईडी एट्टो ३ ‘ईभो’ सार्वजनिक

ठूलो ब्याट्री र ५१० किमी रेन्जसहित बीवाईडी एट्टो ३ ‘ईभो’ सार्वजनिक

केन्द्रबिन्दु
39
Shares

काठमाडौं। चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी एट्टो ३ को नयाँ भेरिएन्ट ‘ईभो’ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको छ। यस नयाँ संस्करणमा ब्याट्री, पावर र चार्जिङ क्षमतामा उल्लेख्य सुधार गरिएको कम्पनीले जनाएको छ।

नयाँ एट्टो ३ ईभोमा ७८.४ किलोवाट आवर क्षमताको ठूलो ब्याट्री प्याक दिइएको छ, जुन हाल उपलब्ध स्ट्यान्डर्ड संस्करणको ६०.५ किलोवाट आवर ब्याट्रीभन्दा १४.३ किलोवाट आवर ठूलो हो। ब्याट्री क्षमता बढेसँगै यसको रेन्ज पनि बढेको छ। कम्पनीका अनुसार नयाँ भेरिएन्टले एकपटक फुल चार्जमा ५१० किलोमिटरसम्म यात्रा गर्न सक्छ, जुन अघिल्लो संस्करणभन्दा करिब ९० किलोमिटर बढी हो।

पावरका हिसाबले पनि ईभो संस्करण बलियो बनेको छ। यसमा पछाडि जडान गरिएको इलेक्ट्रिक मोटरले ३०९ बीएचपी पावर र ३८० एनएम टर्क उत्पादन गर्छ। यो अघिल्लो फ्रन्ट–ह्वील ड्राइभ संस्करणभन्दा १०८ बीएचपी बढी हो। गाडीले ० देखि १०० किमी/घण्टा गति केवल ५.५ सेकेन्डमा लिन सक्छ भने अधिकतम गति १८० किमी/घण्टा रहेको छ।

बीवाईडीले यसलाई डुअल–मोटर र अल–ह्विल–ड्राइभ (AWD) विकल्पमा पनि उपलब्ध गराएको छ। उक्त भेरिएन्टले ४४३ बीएचपी पावर र ५६० एनएम टर्क उत्पादन गर्छ। यसले ०–१०० किमी/घण्टा गति ३.९ सेकेन्डमै पूरा गर्ने दाबी गरिएको छ। AWD संस्करणको रेन्ज भने ४७० किलोमिटर (डब्लुएलटिपी प्रमाणित) रहेको छ।

नयाँ एट्टो ३ ईभो ८०० भोल्ट आर्किटेक्चरमा आधारित भएकाले चार्जिङ समय पनि घटाइएको छ। अब १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केवल २५ मिनेट लाग्ने कम्पनीले जनाएको छ, जुन अघिल्लो संस्करणमा ३०–८० प्रतिशत चार्ज गर्न २९ मिनेट लाग्थ्यो।
समग्रमा, एट्टो ३ ईभो बढी दूरी, बढी पावर र छिटो चार्जिङ सुविधासहित आएको नयाँ विकल्पका रूपमा प्रस्तुत भएको छ।

Skip This
Skip This
Logo