काठमाडाैं । टर्कीको संसदमा बुधबार मन्त्रिमण्डल पुनर्गठनलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच झडप भएको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानले विवादास्पद छविका अकिन गुर्लेकलाई न्यायमन्त्री नियुक्त गरेपछि आक्रोशित बनेका विपक्षी सांसदहरू र सत्ताधारी एके पार्टीका सदस्यहरूबीच मुक्कामुक्का भएको हो।
राष्ट्रपति एर्दोगानले भर्खरै गरेको मन्त्रिमण्डल हेरफेरमा अकिन गुर्लेकलाई न्याय मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए। गुर्लेक यसअघि इस्तानबुलको प्रमुख अभियोजक रहँदा मुख्य विपक्षी दल ‘रिपब्लिकन पिपुल्स पार्टी’का नेताहरूविरुद्ध कडा कानुनी कारबाही चलाएका कारण चर्चामा थिए।
विपक्षी दलले गुर्लेकलाई “सरकारको कठपुतली” भएको र उनले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको आरोप लगाउँदै आएका छन्। बुधबार उनले पदको शपथ लिने क्रममा विपक्षी सांसदहरूले अवरोध सिर्जना गर्न खोजेपछि संसद भवनभित्रै धकेलाधकेल र कुटाकुट सुरु भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा सांसदहरू एकअर्कामाथि मुक्का प्रहार गरिरहेको देख्न सकिन्छ।
यो विवादको केन्द्रमा इस्तानबुलका मेयर एक्रेम इमामोउलु रहेका छन्। इमामोउलुलाई राष्ट्रपति एर्दोगानको सबैभन्दा ठुलो राजनीतिक प्रतिद्वन्द्वी मानिन्छ। नयाँ नियुक्त न्यायमन्त्री गुर्लेकले नै गत नोभेम्बरमा मेयर इमामोउलुविरुद्ध भ्रष्टाचार र संगठित अपराधको आरोपमा १४२ वटा मुद्दा दर्ता गर्दै २,००० वर्षभन्दा बढीको जेल सजाय माग गरेका थिए।
संसदमा भएको तनावका बाबजुद गुर्लेकले सत्तापक्षका सांसदहरूको सुरक्षा घेराबीच शपथ ग्रहण गरेका छन्। राष्ट्रपति एर्दोगानले एर्जुरुम प्रान्तका गभर्नर मुस्तफा चिफ्त्चीलाई नयाँ गृहमन्त्रीमा नियुक्त गरेका छन्।





























प्रतिक्रिया