पर्वत। पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई व्यवस्थित गर्न पूर्वाधार निर्माण सुरु गरेको छ। सङ्घीय सरकारसँगको लागत साझेदारीमा जलजला गाउँपालिकाले १८ स्थानका शवदाहस्थलमा पूर्वाधार निर्माण गरी व्यवस्थित बनाउन लागेको हो। जलजलाका अधिकांश शवदाहस्थल कालीगण्डकी नदी किनारमा रहेका छन्। लेकफाँट, वनमडे, डाँडाकटेरी, लोप्रे, कुवापानी, बनौलगायत जनजाति बस्ती नजिकका घाटहरूलाई पनि व्यवस्थित बनाइने भएको छ।
रु दुई करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको जेआरएस इन्जिनियरिङ सोलुसन एन्ड कन्ट्रक्सन दाङले निर्माण कार्य सुरु गरेको छ।
पानी परेको अवस्थामा पनि शवदाह गर्न मिल्ने सत्तल, घाटसम्म पुग्ने पदमार्ग, कपडा फेर्ने स्थान, मलामी बस्ने आश्रयस्थल, शौचालय, खानेपानी र विद्युत्को व्यवस्था मिलाउने गरी पूर्वाधार निर्माण गरिने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले केन्द्रविन्दुलाई जानकारी दिए।
धेरै मानिसको जमघट हुने घाटमा पूर्वाधार अभावका कारण नागरिकले समस्या भोग्नुपरेको गुनासो आएपछि राष्ट्रिय योजना आयोगमा समपूरक बजेटका लागि प्रस्ताव गरिएको र स्वीकृतिपछि योजना कार्यान्वयन सुरु गरिएको आचार्यले बताए। चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
शवदाहस्थल नजिकै हिन्दू संस्कारअनुसार आवश्यक पर्ने बर र पिपलका बिरुवा रोपिने तथा संरक्षण समिति गठन गरी समुदायलाई जिम्मा दिइने तयारी गरिएको छ।
व्यवस्थित घाट नहुँदा बर्खामा बाढीले जलाउँदै गरेको शव बगाउने, मलामीहरूले गर्मीमा चर्को घाम र वर्षामा झरी सहनुपर्ने समस्या हुँदै आएको छ। जलजला गाउँपालिका–६ शालिजामा भने यसअघि नै दुईवटा घाट निर्माण भएर प्रयोगमा रहेका छन्।
यस योजनाअन्तर्गत डमुवाखोला, लस्ती, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत कालीगण्डकी किनारका घाटहरू व्यवस्थित बनाइने भएको छ।






























प्रतिक्रिया