जनयुद्द दिवसमा रुकुमपूर्वबाट प्रचण्डको अपिल: संकटको समाधानका लागि सबै राष्ट्रिय शक्ति एकजुट हौँ

जनयुद्द दिवसमा रुकुमपूर्वबाट प्रचण्डको अपिल: संकटको समाधानका लागि सबै राष्ट्रिय शक्ति एकजुट हौँ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा देखिएको संकट समाधानका लागि सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

३१ औं जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्वबाट सामाजिक सञ्जालमार्फत शुभकामना भिडियो सन्देश जारी गर्दै संयोजक प्रचण्डले शहीदहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति सम्मान व्यक्त गरेका छन् । जेनजी आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको बताउँदै संयोजक प्रचण्डले वर्तमान संकट समाधानका लागि सबै राष्ट्रिय शक्तिलाई एकजुट हुन अपिल गरेका छन् ।

संयोजक प्रचण्डले भनेका छन्, ‘निर्वाचनमार्फत् सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्न पनि म हार्दिक अपिल गर्दछु ।’ उनले प्रतिनिधिसभा निर्वाचनको लागि आफू रुकुमपूर्वबाट उम्मेदवार बन्दा एकातिर गर्व र अर्कातिर जिम्मेवारीबोध भएको पनि बताएका छन् । संयोजक प्रचण्डले रुकुम पूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिएको बताएका छन् ।

१० वर्षे सशस्त्र युद्ध शुरु गरेको रुकुम पूर्वबाट शुभकामना सन्देश दिँदै प्रचण्डले नयाँ ऊर्जासहित अघि बढ्ने बताएका छन् । तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गर्दै सशस्त्र युद्ध शुरु गरेको थियो ।

त्यही सशस्त्र युद्धलाई माओवादीले ‘जनयुद्ध’ भन्ने गरेको छ । यस वर्षको ‘जनयुद्ध दिवस’ आफ्नो लागि विशेष भएको प्रचण्डले बताएका छन् । उनले भनेका छन्, ‘म यहाँ आउँदा अलिकति भावुक र उद्वेलित भएको छु । जनयुद्धको जस्तै उत्प्रेरणा र नयाँ ऊर्जासहित अब अघि बढ्ने छौं ।’

Logo