बागलुङ। महान जनयुद्धको ३१औँ वार्षिकोत्सवका अवसरमा बागलुङ क्षेत्र नम्बर– २का प्रतिनिधिसभा उम्मेदवार ज्ञामनाथ गैरेले निशिखोला गाउँपालिका–झिंवाखोलास्थित शहीद स्तम्भमा माल्यार्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
कमरेड सनबहादुर घर्ती (मनोज), धनकुमार चन्द र निर्मल चन्दले सहादत प्राप्त गरेको ऐतिहासिक स्थलमा पुगेका गैरेले भने, “शहीदको बलिदान केवल इतिहास होइन, हाम्रो राजनीतिक मार्गदर्शन हो। उहाँहरूले देखाएको बाटोबाट हामी विचलित हुँदैनौं।”
गैरेले जनयुद्धले स्थापित गरेको परिवर्तनलाई संस्थागत गर्दै सामाजिक न्याय र समृद्धिको यात्रालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी बडिगाड–१० निगलपानीमा आयोजित जनभेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । स्थानीयको उल्लेख्य सहभागिताबीच गैरेले बागलुङ–२ को विकास, रोजगारी सिर्जना र पूर्वाधार विस्तारलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए।
“बागलुङ–२ अब पछाडि फर्किने छैन। शिक्षा, स्वास्थ्य, कृषि र सडक पूर्वाधारमा देखिने परिणाम दिन हामी तयार छौं,” उनले भने, “यो चुनाव व्यक्ति जिताउने होइन, विचार र परिवर्तन जिताउने हो।”
जनभेटघाट कार्यक्रममा स्थानीय बासिन्दाले खानेपानी, सडक स्तरोन्नति र युवाका लागि रोजगारी अवसर विस्तारको माग राखेका थिए । गैरेले ती मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिवद्धता जनाए।
जनयुद्ध दिवसको भावनात्मक वातावरण र चुनावी माहोलसँगै बागलुङ –२ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ । शहीद स्मरणदेखि जनतासँग प्रत्यक्ष संवादसम्म सक्रिय देखिएका गैरेले चुनावी प्रतिस्पर्धालाई नयाँ मोड दिएको स्थानियले बताएका छन्। बाग्लुङमा नेकपा र जनमोर्चाविच चुनावी गठबन्धन भएको छ ।































प्रतिक्रिया