केन्द्रबिन्दु संवाददाता । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षा कमाण्डमा पटक पटक परिवर्तन आउँछ । जब राजनीतिक घटनाक्रम बढ्छ, प्रचण्डको सुरक्षा उत्तिकै कसिलो हुने गरेको छ ।
०६३ सालमा खुला राजनीतिमा आएका प्रचण्डलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘विशेष’ सुरक्षा दिएका थिए । कोइरालाले ठूलो सुरक्षाफौज पठाउदा सशंकित समेत भएका प्रचण्डलाई अहिले भने सुरक्षा निकायले नै बलियो फौज खटाएको छ ।
पूर्वप्रधानमन्त्रीहरुमध्ये अधिकांशले प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा सुरक्षा टोली पाउँछन् । पहिलो दलको नेता र विपक्षी दलको नेता हुँदा समेत कांग्रेस सभापति शेरबहादुर देउवाले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र एमाले अध्यक्ष (हाल प्रधानमन्त्री) ले सईको नेतृत्वमा सुरक्षा टोली पाएका थिए ।
पार्टी एकतापछि पुराना र युद्धकालिन लडाकु कार्यकर्ता भड्कनसक्ने भयले प्रचण्डको सुरक्षामा डीएसपीको नेतृत्वमा ठूलो टोली खटाइएको छ । विशेष सुरक्षा कार्यदलले डिएसपी सन्तोषसिंह राठौरलाई प्रचण्डको सुरक्षार्थ खटाएको छ ।
प्रचण्डको सुरक्षामा खटिका डिएसपी दानबहादुर मल्ललाई दरबारमार्ग प्रहरी वृतमा सरुवा गरिएको छ । मल्ल बीच बीचमा परिवर्तन हुँदै आए पनि प्रचण्डको सुरक्षामा लामो समय खटिएका थिए । उनले भनेका थिए, ‘अध्यक्षज्यूले मसँग बढी ‘कम्फर्टेबल’ महसुस गर्नुहुन्छ ।’
राठौरको कमाण्डमा २९ जना नेपाल प्रहरी प्रचण्डको सुरक्षामा खटिएको छ भने सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक खेम ठगुन्नासहित ३० जना प्रहरी पनि सुरक्षामा तैनाथ छन् । गृह मन्त्रालयका अनुसार प्रचण्डको सुरक्षामा विगतमा पनि सामान्य हेरफेर गर्ने गरिएको थियो ।
प्रधानमन्त्री भएपछि बहालवाला प्रधानमन्त्रीले पाउने सुरक्षाबाहेक माधव नेपाल सरकारलाई हटाउन भएको आन्दोलन, संविधान असफल भएपछि, दोस्रो संविधानसभा निर्वाचन बखत र संविधानमा असहमति जनाउँदै ३६ दलीय गठबन्धनले गरेको आन्दोलनका बेला बढी सुरक्षाकर्मी खटाइएको थियो ।





























प्रतिक्रिया