फिक्कल। इलामको माङसेबुङ गाउँपालिकामा आयोजित १६औँ पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा शनिबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोट्र्स क्लब इलामलाई ४–२ गोलअन्तरले पराजित गर्दै दारिम्बाले उपाधि जितेको हो ।
दारिम्बाका लागि स्मिता लिम्बूले दुई तथा सलिना कोइराला र सुजिता तामाङले एक–एक गोल गरे । जनता सेभेनका तर्फबाट रेखा विष्ट र कल्पना जिम्बाले एक–एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा जनता सेभेनकी रेखा विष्टले पेनाल्टी क्षेत्रबाट गोल गर्दै अग्रता दिलाएकी थिइन् । सातौँ मिनेटमा स्मिता लिम्बूले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि १४औँ मिनेटमा सलिना कोइरालाले गोल गर्दै दारिम्बालाई अग्रता दिलाइन् ।
२२औँ मिनेटमा स्मिता लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–१ बनाइन् । २९औँ मिनेटमा जनता सेभेनकी कल्पना जिम्बाले गोल गर्दै अन्तर घटाइन् । दोस्रो हाफमा जनता सेभेनले खेलमा फर्कन सकेन । ५३औँ मिनेटमा गोलकिपर सुजिता तामाङले फ्रिकिकमार्फत गोल गर्दै दारिम्बाको जित सुनिश्चित गरिन् ।
उपाधिसँगै दारिम्बाले नगद रु तीन लाख ७० हजारसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता जनता सेभेनले नगद रु दुई लाख ७० हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर दारिम्बाकी सुजिता तामाङ, उत्कृष्ट डिफेन्डर दारिम्बाकी मनिता तामाङ, उत्कृष्ट खेलाडी जनता सेभेनकी रेखा विष्ट, उदयीमान खेलाडी नविना श्रेष्ठ र सर्वाधिक गोलकर्ता सरिता नाथ घोषित भए । उनीहरूले जनही नगद रु पाँच हजार ७० सहित ट्रफी प्राप्त गरेका छन् ।
किरात धर्मगुरु पवित्रहाङमा साँवा (लिङदेन)को ७०औँ जन्मोत्सवका अवसरमा माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङका गरी आठ महिला टोली सहभागी थिए ।































प्रतिक्रिया