राँझा। नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठा खान बिहानैदेखि मानिसको भीड लाग्ने गरेको छ । यहाँ स्थानीय अरमान अलीको परिवारले करिब चार दशकदेखि हलुवा–पराठा बिक्री गर्दै आएको छ ।
बिहान ६ बजेदेखि नै महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी तथा रुपैडिहा आवतजावत गर्ने यात्रु हलुवा–पराठा खान आउने गरेका छन् । अरमानका अनुसार उनका बुबाले भारतको मुम्बईमा हलुवा–पराठा बनाउन सिकेर नेपालगन्जमा पसल सुरु गरेका थिए, जसलाई अहिले परिवारले निरन्तरता दिएको छ ।
स्थानीयबाहेक बाहिरबाट आउने आगन्तुक पनि हलुवा–पराठा खान चौलिकाचोक पुग्ने गरेका छन् । दैनिक करिब ४० देखि ५० केजीसम्म हलुवा–पराठा बिक्री हुने र त्यसबाट रु १५ हजारदेखि २० हजारसम्म आम्दानी हुने गरेको अरमानले बताए । पसलमा पीठो मुछ्ने, हलुवा बनाउने, पराठा पकाउने र बिक्री गर्ने कामका लागि सात जना कामदार कार्यरत छन् ।
पराठा ठूलो आकारमा बनाइने र तौलेर हलुवासहित बिक्री गरिन्छ । एउटा पराठा धेरै जनालाई पुग्ने बताइएको छ । शनिबार तथा सार्वजनिक बिदाका दिन ग्राहकको संख्या बढी हुने गरेको छ ।
हलुवा–पराठाको माग बढेसँगै नेपालगन्जका अन्य स्थानमा पनि यस प्रकारका पसल सञ्चालनमा आएका छन् । बजारमा विभिन्न परिकार उपलब्ध भए पनि चौलिकाचोकको हलुवा–पराठा खान आउने ग्राहकको संख्या निरन्तर रहेको स्थानीयले बताएका छन् ।





























प्रतिक्रिया