मुख्य सडकमै पेट्रोलियम ट्यांकरको अव्यवस्थीत पार्किङले दुर्घटनाको जोखिम बढ्यो

मुख्य सडकमै पेट्रोलियम ट्यांकरको अव्यवस्थीत पार्किङले दुर्घटनाको जोखिम बढ्यो

केन्द्रबिन्दु
0
Shares

धनगढी ।

मुख्य सडकमै पेट्रोलियम पदार्थसहितका ट्यांकरको अव्यवस्थीत पार्किङका कारण धनगढी असुरक्षित बन्दै गएको छ । पार्किङका लागि जग्गा भाडामा लिइए पनि उचित व्यवस्थापन हुन सकेको छैन । धनगढीको मुख्य सडकमा हुँदै आएको ट्यांकर पार्किङ हट्न सकेको छैन । नेपाल आयल निगमले अलग्गै ट्यांकर पार्किङस्थल निर्माण गरे पनि अहिलेसम्म मुख्य सडकमा नै पार्किङ हुँदै आएको छ । अति प्रज्वलनशिल पदार्थ बोक्ने ट्यांकर मुख्य सडकमै पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

बाक्लो बस्ती र सँगै जोडिएको नेपाल आयल निगम सुदूरपश्चिम प्रदेशको डिपो । पेट्रोलियम पदार्थ भण्डारण गर्ने ट्यांकी, साघुँरो ठाउँ र सडकमै पेट्रोलियम पदार्थले भरिएका ट्यांकर । सोही सडक भएर दैनिक सयौँ सवारी ओहोर दोहोर गर्छन् ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सडकमै लस्करमा डिजेल, पेट्रोल भरिएका ट्यांकर छन् । बस्ती नजिकै आयल निगमको डिपो हुँदा दुर्घटनाको जोखिम बढेको छ । सडक क्षेत्रमा जथाभावी ट्यांकर पार्किङ गरिएपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय चिन्तित बनेका छन् । उक्त रोडमा सवार चलाउँदै आएका सवारी चालकहरुमा पेट्रोलियम पदार्थसहितका ट्यांकर सडक किनारमा पार्किङ गर्दा दुर्घटना जोखिम बढाउनेमा चिन्तित छन् । स्थानीय अटो रिक्सा चालक गणेश चौधरी साँघुरो बाटोमा सवारी सञ्चालन गर्दा जोखिम बढाएको र सडक छेउमै पार्किङ हुँदा झन समस्या भएको बताउँछन् ।

२०३७ सालमा खुला ठाउँमा स्थापना गरिएको आयल निगमको सुदूरपश्चिम डिपो चारैतिर बस्ती बिस्तार भएपछि धनगढी असुरक्षित भएको हो । नेपाल आयल निगम धनगढीले ट्यांकर पार्किङ्गका लागि भन्दै चटकपुरमा जग्गा भाडामा लिएको छ । गत साउनदेखि निगमले जग्गाको भाडा तिर्दै आएपनि व्यवसायीले भने पार्किङ्गस्थल छोडेर सडकमै पार्किङ्ग गर्ने कार्यलाई निरन्तरता दिदै आएका हुन् । सम्भव भएसम्म अहिलेको ठाउँमा नै व्यवस्थित र सुक्षित गरेर पार्किङको व्यवस्था मिलाउने र स्थानीयले सहमति नदिए अर्को स्थानमा पार्किङ व्यवस्थापनका लागि तयारी गरिने नेपाल आयल निगम सुदूरपश्चिम प्रदेशका प्रमुख चितरंजन दासले बताए ।

सुदूरपश्चिमको निगमसँग डिजेलका लागि ३ दिनसम्मको भण्डारण क्षमता रहे पनि पेट्रोलियम पदार्थ भने एक दिन पनि ढुवानी गर्न नसक्दा अभाव हुने गरेको छ । एक बिघा ८ कठ्ठा जमिनमा रहेको सुदूरपश्चिम निगमको डिपोको कार्यालय साँघुरो छ । सम्बन्धित निकायले सडकमै ट्यांकर पार्किङ नगर्न अनुरोध गर्दा पनि आयल निगमले मानेको छैन । स्थानीयले अवरोध गरेपनि निगमले सोही जग्गा विगत ४ महिनादेखि मासिक २० हजारका दरले भाडा तिर्दै आएको छ । समस्या समाधान तर्फ भने कसैको ध्यान जान सकेको छैन ।

Skip This
Skip This
Logo