जनकपुरधाम। गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा एक हजार १५३ व्यवसायी तथा उद्योगीलाई कारबाही गरेको छ। नापतौल इजाजतपत्र नलिई यन्त्र प्रयोग गर्ने, उपभोक्तालाई ठगी गर्ने तथा समयमै नवीकरण नगर्नेहरूलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनिलकुमार यादवले जानकारी दिएका छन्।
सो अवधिमा ६२६ व्यवसायीलाई नयाँ नापतौल इजाजतपत्र प्रदान गरिएको छ भने एक हजार ३९७ व्यवसायीको नापतौल यन्त्र नवीकरण गरिएको छ। अनुगमन, नवीकरण, कारबाही र इजाजतपत्रबाट रु २५ लाख ४६ हजार ६०४ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा ९१७ नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लागि इजाजतपत्र दिइएको थियो। धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप कार्यक्षेत्र रहेको कार्यालयले ती जिल्लामा अनुगमन तथा कारबाही गर्दै आएको छ।
उक्त अवधिमा नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नवीकरण नगर्ने दुई हजार ४३ उद्योगी तथा व्यवसायिक फर्मलाई जरिवानासहित कारबाही गरिएको कार्यालय प्रमुख यादवले बताएका छन्। आफूखुशी ढक तथा तराजु (डिजिटलसमेत) प्रयोग गरेको पाइएपछि कानुनी कारबाही गरिएको जनाइएको छ।
प्राप्त विवरणअनुसार आव २०८१÷८२ मा साउनदेखि असारसम्म दुई हजार ६३० व्यवसायीको नापतौल यन्त्र जाँच गरिएको थियो। सर्लाहीको लालबन्दी र हरिवन, महोत्तरीको गौशाला, रामेछापको मन्थली तथा सिन्धुलीको कमलामाई नगरपालिकामा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
उक्त अवधिमा एकल अनुगमन २९ पटक, व्यवसायिक फर्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक र थप ४९९ पटक अनुगमन गरी रु ५१ लाख एक हजार ९६० राजस्व संकलन गरिएको छ। आव २०८०÷८१ मा रु ४० लाख ६७ हजार २४२ राजस्व संकलन भएको थियो।
कार्यालयसँग आफ्नै भवन नभएकाले भाडाको भवनबाट सेवा प्रवाह भइरहेको छ। अनुगमनका लागि सवारी साधन र पर्याप्त बजेट अभाव हुँदा कार्यसम्पादनमा समस्या भइरहेको कार्यालयले जनाएको छ।































प्रतिक्रिया